गान्तोक: जल जिवन मिशनलाई लिएर आज गेजिङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा एक समीक्षा बैठक सम्पन्न भयो। उक्त बैठकको अध्यक्षता जिल्लापाल तेञ्जिङ डी. डेञ्जोङपाले गरेका थिए जसमा अतिरिक्त जिल्लापाल सुरेश राई, महकुमा अधिकारी सन्देश सुब्बा, महकुमा अधिकारी (मुख्यालय) पुल्कित लगायत अन्य अधिकारीहरूको पनि सहभागिता रहेको थियो। बैठकको मुख्य उद्देश्य कार्य प्रगति, भूमि तथा जलस्रोत विवादसँग सम्बन्धित मुद्दाहरूलाई सम्बोधन गर्नु र बाँकी रहेका कामहरूलाई द्रुत गतिमा सम्पन्न गर्नु रहेको थियो।
बैठकलाई सम्बोधन गर्दै जिल्लापालले विशेष गरी सबै बाँकी रहेका कामहरू पूरा गर्न सबै अधिकारीहरूको ध्यान आकर्षित गराए। उनले यी कार्यहरू पुरा गर्न सम्वन्धित निकायकलाई पर्याप्त समय दिइएको थियो, तर केही ठेकेदारहरूले तोकिएको समयसीमा पनि कार्य पुरा नगरेको जानकारी गराए। जिल्लापालले थाँतीमा रहेको कामहरू छिटो पुरा गर्न निर्देष दिएकाछन्। उनले यस विषयमा खण्ड विकास अधिकारीहरूलाई निर्माण कार्य स्थलको स्थलगत भ्रमण गर्न र काम तुरुन्तै पुनः शुरु गर्न निर्देशन दिए। उनले जेजेएम योजनाको कार्यान्वयनमा पारदर्शिता र गुणस्तरको महत्त्वमा जोड दिए।