झापा: पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिका–११ झरना पुलनजिक मंगलबार दिउँसो पिकअप गाडी र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ।
बिर्तामोडबाट दमकतर्फ आउँदै गरेको प्र १–०२–००२ च ६४५४ नम्बरको पिकअप र विपरीत दिशातर्फ जाँदै गरेको प्र १–०१–०१२ प ३३७१ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको हो। दिउँसो २ः३० बजेतिर दुर्घटना हुँदा स्कुटर चालक शिवसताक्षी–९ का १९ वर्षीय सुजल अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल पुर्याउनसाथ चिकित्सकले ३ः३० बजेतिर मृत घोषित गरेका हुन्। पिकअप चालक तेह्रथुमको म्याङलुङ नगरपालिका–४ का ३६ वर्षीय अर्जुन शंकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सवारीसाधनको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ।