खरसाङ: युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोग अनि खरसाङ खेलकुद संघको तत्त्वावधानमा आयोजित प्रतिष्ठित शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको बाह्रौं संस्करणमा दार्जीलिङ पुलिसले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। चानमारी खेल मैदानमा मंगलवार बिहान ११ बजीदेखि भएको तेस्रो क्वार्टर फाइनल म्याचमा दार्जीलिङ पुलिसले कञ्चनजंघा फूटबल क्लबविरुद्ध पेनल्टी शूटआउटमा ५-४-ले जीत हासिल गऱ्यो। नियमित ९० मिनटको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा दार्जीलिङ पुलिसको तर्फबाट नेहाल सेवाले २०औं मिनटमा गोल गरे। यसरी कञ्चनजंघा फूटबल क्लबको तर्फबाट लाक्पा पाख्रिनले इञ्ज्युरी टाइममा गोल गरे। दार्जीलिङ पुलिसका नेहाल सेवाले प्लेयर अव् द म्याच-को पुरस्कार जिते। टुर्नामेण्टमा १२ वटा शीर्ष टीमहरूलाई प्रवेश दिइएको छ, जसमा उत्तर बंगालका शीर्ष क्लबहरूको साथमा नेपाल र कलकत्ताको टीम पनि सामेल छन्। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ३० र ३१ जनवरीमा हुनेछ।

यसरी फाइनल २ फरवरीमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।