खरसाङ: युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोग अनि खरसाङ खेलकुद संघको तत्त्वावधानमा आयोजित प्रतिष्ठित शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको बाह्रौं संस्करणमा युनाइटेड फूटबल क्लब दार्जीलिङले एकतर्फी जीतको साथ सेमिफाइनलमा स्थान बनायो। चानमारी खेल मैदानमा सोमवार भएको क्वार्टर फाइनल म्याचमा युनाइटेड दार्जीलिङले सिलगढ़ीको ब्राइट स्पोर्टिंग क्लबविरुद्ध ४-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट नोरजांंग लेप्चाले ह्याट्रिक गरे। अन्य एउटा गोल राज थापाले गरे। टुर्नामेण्टको पहिलो ह्याट्रिकको निम्ति नोरजांग लेप्चाले प्लेयर अव् द म्याच-को पुरस्कार जिते।

मंगलवार अन्तिम २ वटा क्वार्टर फाइनल म्याच खेलिनेछ। बिहान ११ बजीदेखि शुरु हुने म्याचमा कञ्चनजंघा फूटबल क्लब र दार्जीलिङ पुलिसबीच भिड़न्त हुनेछ। यसरी दोस्रो म्याच दिउँसो २ बजीदेखि कनकाई स्पोर्टिंग क्लब (नेपाल) र गड़वाल राइफल्स, कलकत्ताबीच खेलिनेछ। टुर्नामेण्टमा १२ वटा शीर्ष टीमहरूलाई प्रवेश दिइएको छ, जसमा उत्तर बंगालका शीर्ष क्लबहरूको साथमा नेपाल र कलकत्ताको टीम पनि सामेल छन्। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ३० र ३१ जनवरीमा हुनेछ। यसरी फाइनल २ फरवरीमा खेलिनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










