सोनादा: भूतपूर्व सैनिक वेलफेयर एसोसिएसन पचेङ शाखाको रजत वर्ष अर्थात २५ वर्ष पुगेको अवसरमा गत १९ जनवरीदेखि निम्न सोनादा पचेङको दुबे खेल मैदानमा सिल्भर जुबली नक आउट फुटबल टुर्नामेन्ट शुरु भएको छ। यस फुटबल टुर्नामेन्ट अन्तर्गत आजको खेल लेबर युनियन र यङ्ग बोइस सोनादामाझ सम्पन्न भएको थियो। यस खेलमा लेबर युनियनले यङ्ग बोइस सोनादालाई ९-० को अन्तरले सजिलै जितेर दोस्रो चरणमा प्रवेश गरेको छ। यस खेलमा अतिथिको रुपमा समाजसेवी उमेस राई, प्रमेस राई, प्रभात राई लगायत अन्यहरु उपस्थित रहेका थिए। आजको खेलमा म्यान अफ् द म्याच लेबर युनियनको आकास राई चयन भएका छन्। यस फुटबल टुर्नामेन्टमा दार्जीलिङ, खरसाङ, सिलगढी क्षेत्रबाट २० वटा टिमहरुले सहभागिता जनाएका छन्। अब अर्को खेल आगामी ३१ जनवरीमा राजेस एफसी मुण्डा बाँसघारी र आठ माइल गोराबारी माझ सम्पन्न हुने भएको छ।

यस फुटबल टुर्नामेन्टको विजेतालाई ट्रफीससहित डेढ लाख रुपियाँ र उप विजेतालाई ट्रफीससहित एक लाख रुपियाँ प्रदान गरिने छ। भनी भूतपूर्व सैनिक कल्याण वेलफेयर एसोसिएसन पचेङ शाखाको सभापति अननेरी कप्तान एलबी राईले जानकारी गराएका छन्।