मिस्रमा दुर्लभ चित्तीदार हयना देखिएको छ। करिब ५ हजार वर्षपछि पहिलो पटक यो जनावर मिस्र-सुडान सीमामा देखिएको हो। तर, स्थानीय बासिन्दाहरूले यसलाई मारिदिएका छन्। यस घटनाले अनुसन्धानकर्ताहरूलाई हैरान र निराश पारेको छ। विशेषज्ञहरूले यस घटनाले वन्यजन्तुहरूको बासस्थानबारेको बुझाइमा चुनौती प्रस्तुत गरेको बताएका छन्। साथै, यो घटनाले जलवायु परिवर्तनले जनावरहरूको बसाइँसराइलाई कसरी प्रभाव पार्न सक्छ भन्ने नयाँ प्रश्न खडा गरेको छ। २४ जनवरी २०२५ मा मिस्रको दक्षिणपूर्वी क्षेत्रमा रहेको वादी याहमीबमा यो चित्तीदार हयना देखिएको थियो। यो स्थान मिस्र-सुडान सीमाबाट १९ माइल उत्तरमा पर्छ। यो हयना सुडानमा पाइने चित्तीदार हयनाहरूको ज्ञात बासस्थानभन्दा ३१० माइल उत्तरमा भेटिएको हो। ५००० वर्षपछि मिस्रमा यस प्रजातिको पहिलो पटक देखापरेको घटना हो। स्थानीय गाउँलेहरूले यो हयनालाई बाख्राहरूमा आक्रमण गरिरहेको अवस्थामा फेला पारेका थिए। त्यसपछि उनीहरूले यसलाई घेरा हाली समाते र कुटपिट गरी मारे।
मिस्रको अल अजहर विश्वविद्यालयका पारिस्थितिकीविद् अब्दुल्लाह नागीले भने, “जबसम्म मैले यसको शवका तस्बिर र भिडियो देखिनँ, मलाई यो विश्वास नै भएन। यो देखेर म पूर्ण रूपमा चकित भएँ। यो मिस्रमा पाइने कुनै पनि कुराभन्दा फरक थियो।” चित्तीदार हयना सामान्यतया उप-सहारन अफ्रिकामा बस्छन्। झुन्डमा सिकार गर्ने यी जनावरहरू अफ्रिकाका विभिन्न क्षेत्रहरूमा पाइन्छन्। तर, यो मिस्रमा कसरी आयो भन्ने विषयमा प्रश्न उब्जिएको छ। नागीका अनुसार दुर्लभ मौसम घटना र रेड सी ट्रफको सक्रियताले यो हयनाको यात्राको मार्ग खोलेको हुनसक्छ। यस क्षेत्रमा पूर्वी हावाले पहाडमाथि बगेर भारी वर्षा र बाढी ल्याउने सम्भावना छ। अनुसन्धानकर्ताहरूका अनुसार रेड सी ट्रफसँग सम्बन्धित १० वर्षमा एक पटक हुने मौसमी चक्रले मिस्र-सुडान सीमामा धेरै वर्षा गराएको छ। यसले वन्यजन्तुहरूको बसाइँसराइका लागि नयाँ मार्ग खोल्न सक्छ। शुरुवाती अध्ययनहरूले देखाएका छन् कि चित्तीदार हयनाले आफ्नो यात्राका क्रममा पर्याप्त खाद्य स्रोतहरू पाएको हुनुपर्छ। ऐतिहासिक उपग्रह तस्वीरहरूले पुष्टि गर्छन् कि पछिल्ला वर्षहरूमा यस क्षेत्रमा वनस्पतिको उल्लेखनीय वृद्धि भएको छ। चित्तीदार हयनाहरू लामो दुरीको यात्रा गर्न सक्षम हुन्छन्। सामान्यतः उनीहरू एक दिनमा १७ माइल यात्रा गर्न सक्छन्। यो हयनालाई एल्बा संरक्षित क्षेत्रमा दुईवटा बाख्रा मार्न खोजेको अवस्थामा ट्र्याक गरिएको थियो। यस दुर्लभ घटनाले जलवायु परिवर्तन, वन्यजन्तुहरूको बसाइँसराइ र नयाँ चुनौतीहरूको बारेमा गहिरो अध्ययनको आवश्यकता औँल्याएको छ।










