खरसाङ: खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायत बेस्ट पर्फर्मेन्सको आधारमा जीटीए क्षेत्रभरिमै प्रथम भएर दार्जिलिङमा पुरस्कृत भएको छ। जीटीए क्षेत्रको ११२ वटा ग्राम पञ्चायतहरुमध्ये महानदी ग्राम पञ्चायत प्रथम भएर हिजो दार्जिलिङको चौरास्ता परिसरमा आयोजित ७६औं गणतन्त्र दिवसको अवसरमा अवसरमा दार्जिलिङकी जिल्लापाल डा. प्रीति गोयलको बाहुलीबाट पुरस्कार र सम्मान प्राप्त गरेका छन्। हिजो गणतन्त्र दिवसको अवसरमा जीटीए क्षेत्रको ११२ ग्राम पञ्चायतहरुमध्ये बेस्ट पर्फर्मेन्स दिने जीटीए क्षेत्रको तीनवटा ग्राम पञ्चायतहरुलाई पुरस्कृत गरिएको छ। यसमा प्रथम महानदी ग्राम पञ्चायत, दोस्रो गोक ग्राम पञ्चायत दुई र तेस्रो तकदाह ग्राम पञ्चायत हुन सफल बनेको छ। प्रथम स्थानमा आउन सफल महानदी ग्राम पञ्चायतको तर्फबाट पञ्चायत प्रधान पासाङ शेर्पा, ईए विध्या सिंह, सचिव पेन्चेन लमु तामाङ र एसटीपी सबीर रहमान दार्जिलिङको चौरास्तामा आयोजित कार्यक्रममा उपस्थित भएर पुरस्कार एंव सम्मान ग्रहण गरेका छन्।

महानदी ग्राम पञ्चायत जीटीए क्षेत्रको ११२ वटा ग्राम पञ्चायतहरुमध्ये बेस्ट पर्फर्मेन्सको आधारमा प्रथम बनेकोमा पञ्चायत प्रधान पासाङ शेर्पा, ईए विध्या सिंह र सचिव पेन्चेन लमु तामाङले हर्ष व्यक्त गरेका छन्।










