गान्तोक: राज्यपाल ओम प्रकाश माथुरले ७६औँ गणतन्त्र दिवसको अवसरमा जनतालाई हार्दिक शुभकामना व्यक्त गर्दै सन् २०२५ मा सिक्किमले आफ्नो ५०औँ राज्य दिवस पनि मनाउने कुरामा प्रकाश पारे। राज्यपालले सिक्किमवासीलाई आफ्नो सन्देशमा भने, “यस वर्ष, जब हामी सिक्किमको राज्य स्थापना भएको ५०औँ वार्षिकोत्सव मनाउँदै छौं, तब हामीले हासिल गरेका अद्वितीय प्रगतिहरूप्रति गर्व गर्दै विगतलाई स्मरण गर्न सक्छौं। पर्यटन, स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रदेखि शासन र डिजिटल कनेक्टिभिटीसम्म हामीले निरन्तर प्रगति गरिरहेका छौं, यस यात्रामा कोही पनि पछाडि नपरोस् भन्ने सुनिश्चित गर्दै।” राज्यपालले जानकारी दिए कि स्वर्ण जयन्ती उत्सवको एक हिस्साका रूपमा सिक्किम सरकारले वर्षभरि विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ, जसको समापन २०२५ मई १६ मा भव्य समारोहका रूपमा हुनेछ। यस अवसरमा प्रधानमन्त्री मुख्य अतिथिका रूपमा उपस्थित हुनेछन्। राज्यपाल माथुरले भने, “यो कार्यक्रम हाम्रो वृद्धि, उपलब्धि र सामूहिक भावनाको प्रतिबिम्ब हुनेछ, जसले हामीलाई अगाडि बढाएको छ।” गणतन्त्र दिवसको अवसरमा राज्यपालले राज्यको प्रगति, एकता र कल्याणप्रति आफ्नो प्रतिबद्धता नवीकरण गर्न जनतालाई आह्वान गरे। उनले भने, “भारत सरकारको निरन्तर समर्थन र हाम्रो जनताको अथक प्रयासका कारण, मलाई विश्वास छ कि सिक्किम दिगो विकास र समावेशी प्रगतिका मोडलका रूपमा चम्किरहनेछ। सँगै मिलेर हामी एउटा यस्तो भविष्य निर्माण गर्दैछौं, जहाँ हरेक नागरिक फस्टाउन सकून्।” राज्यपालले थपे, “जसरी हामी अघि बढ्दैछौं, एकता र प्रगतिका भावनालाई आत्मसात् गरौँ र आगामी ५० वर्ष झन् धेरै उपलब्धि, समृद्धि र कल्याणले भरिपूर्ण बनाउने दिशामा हातेमालो गरौँ।” सन्देशमा राज्यपालले विगत ५० वर्षमा सिक्किमले तय गरेको उल्लेखनीय यात्राको समीक्षा गरे, जसले विकास र प्रगतिका मोडलको रूप लिएको छ। उनले बताएअनुसार नीति आयोगको पछिल्लो दिगो विकास लक्ष्य (एसडीजी) मूल्याङ्कनले सिक्किमको समग्र एसडीजी स्कोरमा सन् २०२०-२१ मा गरिएको सर्वेक्षणको तुलनामा उल्लेखनीय सुधार देखाएको छ। आर्थिक क्षेत्रमा, सिक्किमको निर्माण क्षेत्रले राज्यको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा ३५.७% को महत्त्वपूर्ण योगदान पुर्याएको छ, जुन भारतभरि सबैभन्दा धेरै हो। राज्यपाल माथुरले भने, “यसले हाम्रो औद्योगिक आधारको मजबूती र नवप्रवर्तन तथा औद्योगिक विकासलाई प्रोत्साहन गर्ने नीतिहरूको प्रभावकारितालाई झल्काउँछ।”









