गान्तोक: पूर्व मुख्यमन्त्री पवन चामलिङले ७६औं गणतन्त्र दिवसको अवसरमा जनताहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्। उनले भने, “यस वर्ष हामी ‘स्वर्णिम भारत: विरासत र विकास’ थिम अन्तर्गत गणतन्त्र दिवस मनाउँदैछौं। यो ऐतिहासिक दिनले हामीलाई हाम्रा संस्थापक नेताहरूको त्याग र योगदानको सम्झना गराउँछ, जसले हाम्रो स्वतन्त्रताका लागि अथक संघर्ष गरे। यो स्वतन्त्रता संग्रामका लागि जीवन समर्पण गर्नेहरूलाई सम्मान गर्ने समय हो, जसका कारण हामी सम्मान र आत्मनिर्णयका साथ जीवन बिताउन सक्षम भएका छौं।” पूर्व मुख्यमन्त्री चामलिङले भारतको संविधान प्रत्येक नागरिकको सुरक्षाको कवचको रूपमा कार्य गर्ने कुरा प्रकाश पारे। उनले भने, “जनताको अधिकार तबसम्म सुरक्षित हुन्छन् जबसम्म संविधान बलियो छ। सिक्किमका लागि अनुच्छेद ३७१ एफ हाम्रो संवैधानिक सुरक्षाको रूपमा कार्य गर्दछ, जसले हाम्रा विशेष अधिकार र पहिचानको संरक्षण गर्दछ।” उनले थपे, “अनुच्छेद ३७१एफको रक्षा गर्नु केवल एक कर्तव्य होइन, सिक्किमको भविष्यका लागि यो आवश्यकता हो। एसडीएफ सरकारको कार्यकालमा हाम्रो उच्च प्राथमिकता अनुच्छेद ३७१एफको सतर्कता र सुरक्षा सुनिश्चित गर्नु थियो। यद्यपि पछिल्ला वर्षहरूमा अनुच्छेद ३७१एफलाई निकै कमजोर पारिएको छ।” चामलिङले भने, “इनर लाइन परमिट लागू गर्नुपर्ने ठाउँमा नागरिकता संशोधन ऐन (२०१९) सिक्किममा ल्याइएको छ। यसैगरी, हाम्रो पुरानो मोटर वाहन ऐन र कम्पनी दर्ता ऐनको स्थानमा केन्द्रीय ऐनहरू लागू गरिएका छन्, जसले हाम्रा विशेष प्रावधानलाई कमजोर बनाउँदैछ। जन्म र मृत्यु दर्ता (संशोधन) ऐन, २०२३ को कार्यान्वयन पनि यस क्षरणको अर्को उदाहरण हो।” सबैभन्दा गम्भीर झड्का भने २०२३ जनवरी १३ मा लाग्यो, जब सिक्किमेको परिभाषालाई पुनः परिभाषित गर्दै गैर-सिक्किम विषय धारणकर्तालाई सिक्किम विषय धारणकर्ताको बराबरमा राखियो। उनले भने, “पछिल्ला पाँच वर्षमा हामीले अनुच्छेद ३७१एफलाई क्रमशः कमजोर हुँदै गएको देखेका छौं, जसले सिक्किमको पहिचान र अधिकारहरूलाई गम्भीर खतरा पुर्याएको छ।” चामलिङले व्यापक रूपमा भारतका अगाडि गम्भीर चुनौतीहरू रहेको बताएका छन्। उनले भने, “संविधानले धर्म, जात, लिङ्ग वा जन्मस्थानको पर्वाह नगरी कानूनअगाडि समानताको ग्यारेन्टी दिन्छ। तर जातीय विभेद र अस्पृश्यता अझै पनि कठोर वास्तविकता हुन्।” उनले लोकतान्त्रिक संस्थाहरूको सुरक्षा र सुदृढीकरण आफ्नो कर्तव्य भएको बताए। “त्यसपछि मात्रै ती संस्थाहरूले प्रत्येक नागरिकका अधिकारहरूको रक्षा गर्न सक्छन्। यस गणतन्त्र दिवसमा, आउनुहोस्, हामी भारतको संविधानलाई बचाउन र त्यसको रक्षा गर्न प्रतिबद्ध हुने प्रण गरौं। सिक्किमका जनताको रूपमा, अनुच्छेद ३७१एफको रक्षा गर्न र सिक्किमका विशेष अधिकार र पहिचानलाई जोगाउन प्रतिबद्ध हुने शपथ गरौं,” चामलिङले आग्रह गरे।









