खरसाङ: युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोग अनि खरसाङ खेलकुद संघको तत्त्वावधानमा आयोजित प्रतिष्ठित शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको बाह्रौं संस्करणमा हिल्स फूटबल एकाडमीले सेमिफाइनलमा स्थान बनायो। चानमारी खेल मैदानमा आइतवार भएको म्याचमा हिल्स फूटबल एकाडमीले कालेबुङ पुलिसविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट प्रवेश छेत्री र कुशल राईले गोल गरे। विजेता टीमका गोलकीपर अबीन थापाले प्लेयर अव् द म्याच-को पुरस्कार जिते। सोमवार खेलिने क्वार्टर फाइनल म्याचमा युनाइटेड फूटबल क्लब दार्जीलिङ र ब्राइट स्पोर्टिंग क्लबबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा १२ वटा शीर्ष टीमहरूलाई प्रवेश दिइएको छ, जसमा उत्तर बंगालका शीर्ष क्लबहरूको साथमा नेपाल र कलकत्ताको टीम पनि सामेल छन्। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ३० र ३१ जनवरीमा हुनेछ। यसरी फाइनल २ फरवरीमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।
								



								

															
                    



