खरसाङ: खरसाङ महकुमा अन्तर्गत घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको उपाधि चाँद एफसीले जितेको छ। घैयाबारी स्पोर्ट्स एसोसिएसनको आयोजनामा गत १० दिसम्बरदेखि शुरु भएको नगदराशि फुटबल टुर्नामेन्ट अन्तर्गत आईतबार फाईनल खेल चाँद एफसी र दुधे एफसीमाझ सम्पन्न भयो। यस खेलमा चाँद एफसीले ६-१ को अन्तरले सजिलै बिजय बन्दै उपाधि जित्न सफल बनेको छ। यस फाइल खेलमा चाँद एफसीले पहिलो हाफको खेलमा नै २-० को बढत बनाएको थियो। दोस्रो हाफको खेलमा पनि एकतर्फी खेलमा चाँद एफसीले ६-१ को फराकिलो अन्तरले जीत हाँसिल गरेको छ। चाँद एफसीको तर्फबाट जर्सी नम्बर ३ नेहाल छेत्रीले २ गोल,
जर्सी नम्बर ७ नयन प्रधान, जर्सी नम्बर १० प्रियान्शु राना, जर्सी नम्बर ६ पासाङ तामाङ र जर्सी नम्बर २ छोगेल तामाङले एक एक गोल गरेका थिए। दुधे एफसीको भएको एक मात्र गोल पनि सुसाइड गोल भएको थियो। आजको खेलमा म्यान अफ् द म्याच चाँद एफसीको जर्सी नम्बर ७ नयन प्रधान चयन भएका छन् भने म्यान अफ् द टुर्नामेन्ट पनि चाँद एफसीकै खेलाडी जर्सी नम्बर १० प्रियान्सु राना चयन भएका छन्। त्यसरी नै बेस्ट गोल किपरको रुपमा दुधे एफसीको गोल किपर राजीव सिन्हा चयन भएका छन् भने टुर्नामेन्टभरि सर्वाधिक गोलदाताको रुपमा एक्का ट्रायलको खेलाडी रिन्छेन तामाङ चयन भएका छन्। यसै क्रममा फेयर प्ले अवार्ड मिक्स अप बोइज खरसाङले प्राप्त गरेको छ। जम्मा २२ टिमह१रुले भाग लिएको यस नगदराशि फुटबल टुर्नामेन्ट गत १० दिसम्बरदेखि शुरु भएको थियो। आजको खेलमा मुख्य अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा भए पनि उनी अनुपस्थित थिए। विशिष्ट अतिथिहरुमा राजीव थापा, सुष्मा वाईबा, सुनिल प्रधान, दिनेश प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए।

आजको फाइनल खेलमा विजेता चाँद एफसीले ट्रफीससहित डेढ लाख रुपियाँ र उप विजेता दुधे एफसीले ट्रफीससहित एक लाख रुपियाँ नगदराशि प्राप्त गरेका छन्। यस फाइनल खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै घैयाबारी स्पोटर्स एसोसिएसनको सल्लाहकार दावा वाङ्दी लामाले विस्तृत रुपमा जानकारी गराएका छन्।











