भारतको इतिहासमा पहिलो पटक एकै साथ आमा र छोरालाई राष्ट्रपतिको सम्मान प्रदान गरिनेछ। आज २६ जनवरीको अवसरमा लेफ्टिनेन्ट जनरल साधना एस. नायर र उनका छोरा तरुण नायरलाई राष्ट्रपति द्रौपदी मुर्मुले सम्मानित गर्नेछिन्। लेफ्टिनेन्ट जनरल साधना एस. नायरलाई अति विशिष्ट सेवा मेडल (एभीएसएम) प्रदान गरिनेछ भने उनका छोरा स्क्वाड्रन लिडर तरुण नायरलाई शौर्य चक्र प्रदान गरिनेछ।
साधना नायरलाई भारतीय सेनामा लामो समयसम्मको सेवाका लागि एभीएसएम सम्मान प्रदान गरिनेछ, जबकि तरुणलाई भारतीय वायुसेनामा साहस र बहादुरीका लागि वायुसेना मेडल प्रदान गरिनेछ। गणतन्त्र दिवसको पूर्वसन्ध्यामा राष्ट्रपति द्रौपदी मुर्मुले सशस्त्र बल र केन्द्रीय सशस्त्र बलका ९३ जवानलाई बहादुरी पुरस्कार दिने स्वीकृति दिइन्। तीमध्ये २ कीर्ति चक्र (१ मरणोपरान्त) र १४ शौर्य चक्र (३ मरणोपरान्त) समावेश छन्।लेफ्टिनेन्ट जनरल साधना सक्सेना नायरलाई ३१ जुलाई २०२४ मा आर्मी मेडिकल सेवाको महानिर्देशक (डीजी) नियुक्त गरियो। यो पद सम्हाल्ने उनी पहिलो महिला हुन्। सन् २०२३ को अक्टोबरमा वायुसेनामा एयर मार्शल पदमा प्रमोशन भएपछि साधनालाई सशस्त्र बलको अस्पताल सेवाहरूकी महानिर्देशक नियुक्त गरिएको थियो। यो पदमा पुग्ने उनी पहिलो महिला अधिकारी हुन्। साधना वायुसेनाको दोस्रो महिला मेडिकल अफिसर हुन्, जसले एयर मार्शल रैंकसम्मको पद हासिल गरेकी छन्। साधना र उनका श्रीमान् केपी नायर एयर मार्शल ऱ्यांकसम्म पुग्ने देशकै पहिलो जोडी हुन्। केपी नायर सन् २०१५ मा इन्स्पेक्सन र फ्लाइट सेफ्टीका महानिर्देशक पदबाट अवकाश लिएका थिए।
फ्लाइट लेफ्टिनेन्ट तरुण नायर मिग-२९ स्क्वाड्रनका फाइटर पाइलट हुन्। उनलाई मिग-२९ विमानको उडानका क्रममा देखिएका गम्भीर प्राविधिक समस्याहरूको बावजुद विमानलाई सुरक्षित रूपमा अवतरण गराएर ठूलो दुर्घटना टाल्न सफल भएका कारण वायुसेना मेडल (शौर्य) प्रदान गरिनेछ। १२ मार्च २०२४ मा कठिन परिस्थितिमा उनले धैर्य, सीप र उत्कृष्ट निर्णय क्षमता प्रदर्शन गर्दै विमानलाई सुरक्षित रूपमा ल्यान्ड गराए। एयर मार्शल साधना सक्सेना नायरको परिवार तीन पुस्तादेखि भारतीय वायुसेनासँग सम्बन्धित छ। साधनाका बुबा र दाजु वायुसेनामा डाक्टर थिए भने उनका छोरा तरुण वायुसेनामा फाइटर पाइलटका रूपमा सेवा गरिरहेका छन्।










