कोलकाता: गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारत सरकारले पद्म पुरस्कार २०२५ का विजेताहरूको घोषणा गरेको छ। यस वर्ष पश्चिम बङ्गालका नौ प्रतिष्ठित व्यक्तिहरूलाई पद्मश्री सम्मान प्रदान गरिएको छ। यी सबैले सङ्गीत, नृत्य, शिक्षा, समाज सेवा, र उद्योगजस्ता विभिन्न क्षेत्रमा अद्वितीय योगदान दिएका छन्। पद्मश्री सम्मान प्राप्त गर्ने व्यक्तिहरूमा प्रसिद्ध गायक अरिजीत सिंह, नृत्यांगना तथा अभिनेत्री ममता शंकर, ढाक वादक गोकुल चन्द्र दास, सरोद वादक पंडित तेजेन्द्र नारायण मजूमदार, शिक्षाविद नागेन्द्रनाथ रोय, सामाजिक कार्यकर्ता विनायक लोहाँनी, धर्मगुरु स्वामी प्रदीप्तानन्द (कार्तिक महाराज), र उद्योगपतिहरू पवन गोयनका तथा सज्जन भजनका समावेश छन्।
भारतका चर्चित गायक अरिजीत सिंहलाई सङ्गीतमा अभूतपूर्व योगदानको लागि पद्मश्री सम्मान प्रदान गरिएको छ। आफ्नो आवाजको जादुले लाखौंको मन जितेका अरिजीतले हिन्दी, बङ्गाली, र अन्य भाषाहरूमा सयौं गीत गाएका छन्। यो उनको पहिलो राष्ट्रिय सम्मान हो। यसअघि उनलाई राष्ट्रिय फिल्म पुरस्कार र सातवटा फिल्मफेयर अवार्ड मिलिसकेको छ। प्रख्यात नृत्यांगना र अभिनेत्री ममता शंकरलाई पनि पद्मश्रीले सम्मानित गरिएको छ। यो सम्मान पाएपछि प्रतिक्रिया दिँदै ममताले भनिन्, “यो खबर सुनेर म अत्यन्तै अभिभूत छु। यो सम्मान मेरो अभिभावक, दर्शक, सहकर्मी र मेरा कामलाई मन पराउने–नपर्ने सबैलाई समर्पित छ।” ५० भन्दा बढी फिल्ममा अभिनय गरेकी ममताले सत्यजीत रे, मृणाल सेन र बुद्धदेव दासगुप्ताजस्ता महान निर्देशकहरूको योगदानको लागि धन्यवाद व्यक्त गरिन्। सरोद वादक प० तेजेन्द्र नारायण मजूमदारलाई भारतीय शास्त्रीय सङ्गीतमा उत्कृष्टताको लागि पद्मश्री प्रदान गरिएको छ। पुरस्कार घोषणा हुँदा उनी आईआईटी खड़गपुरको स्प्रिंग फेस्टमा प्रस्तुति दिइरहेका थिए। उनले भने, “यो सम्मान केवल मेरो लागि होइन, तर भारतीय शास्त्रीय सङ्गीतलाई अगली पुस्तासम्म पुर्याउने जिम्मेवारी पनि हो।”
पश्चिम बङ्गलाका प्रसिद्ध ढाक वादक गोकुल चन्द्र दासलाई पनि पद्मश्रीले सम्मानित गरिएको छ। उनले महिलाहरूलाई ढाक बजाउने कला सिकाएर परम्परागत मान्यतालाई चुनौती दिएका छन्। उनले अहिलेसम्म १५० भन्दा बढी महिलालाई प्रशिक्षण दिएका छन्। भारत सेवाश्रम संघका बेलडांगा शाखाका प्रमुख स्वामी प्रदीप्तानन्द (कार्तिक महाराज)लाई पनि पद्मश्री सम्मान प्रदान गरिएको छ। धर्म र समाज सेवामा उनको योगदानको उच्च मूल्यांकन गरिएको छ। शिक्षाविद नागेन्द्रनाथ रोयलाई शिक्षा र साहित्यमा योगदानको लागि पद्मश्री सम्मान प्रदान गरिएको छ। सामाजिक कार्यकर्ता विनायक लोहाँनीलाई समाज सेवामा उत्कृष्ट योगदानका लागि यो सम्मान दिइएको हो। उद्योग र व्यापारको क्षेत्रमा योगदानका लागि पवन गोयनका र सज्जन भजनकालाई पनि पद्मश्रीले सम्मानित गरिएको छ। यी सबै विभूतीहरूले सम्मानका लागि भारत सरकारलाई आभार व्यक्त गरेका छन्।











