पाथीभरामा केबलकार बनाउने योजना खारेज गर: राजेन्द्र महतो

IMG-20250126-WA0250

बिर्तामोड: राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ताप्लेजुङको फुङलिङ नगरपालिका-११ मा अवस्थित मुकुलुंग (पाथीभरा) क्षेत्रमा केबलकार बनाउने योजनालाई खारेज गर्न माग गरेका छन्।
अध्यक्ष महतोले आइतबार एक विज्ञप्ति जारी गरी उनले त्यस्तो माग गरेका हुन्। मुकुलुंग क्षेत्रमा हुन लागेको केबलकार निर्माण कार्यलाई त्यहाँको स्थानीय समूहले विरोध गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो। स्थानीयवासी ‘नो केबलकार समूह’ गठन गरेर नै आन्दोलनमा उत्रिएका छन्।
ती समूहमाथि प्रहरीले दमन गरेको भन्दै अध्यक्ष महतोले त्यसको भर्त्सना गरे। हिजो बेलुकी शान्तिपूर्ण रूपमा आफ्ना आस्था, संस्कृति र पहिचान जोगाउन भेला भएका नागरिकहरूमाथि प्रहरीले गोली प्रहार गरी घाइते बनाएका छन्।
अध्यक्ष महतोले भनेका छन्- ‘मुकुलुंग (पाथीभरा) कुनै साधारण स्थल होइन; यो सम्पूर्ण नेपालीहरूको आस्था, परम्परा र विश्वासको धरोहर हो। यो मात्र एक भूमि होइन, आस्थावानहरुकाे पुर्खाहरूको आत्मा बस्ने स्थल हो । यसलाई कुनै एक व्यक्तिको नाफा र घाटाको रूपमा प्रयोग गर्नु दिनुहुँदैन यसलाई प्राकृतिक रूपमा जस्तो छ त्यस्तै रहन दिनुपर्छ र रैथाने परम्परा अनुसार नै यसको पुजा, आराधना हुनुपर्दछ।’
प्राकृतिक स्वरूपमा रहेको यस्तो पवित्र स्थललाई अस्थिरता र विनाशतर्फ धकेल्ने कुनै पनि प्रयासलाई दृढताका साथ अस्वीकार गर्ने उल्लेख गर्दै महतोले आस्था र धरोहर प्राणभन्दा प्रिय हुन्छ भन्ने पुर्खाहरूका वाणीलाई वर्तमान पुस्ताले पनि आत्मसात् गरी सकेको उल्लेख गरेका छन् 
कुनै पनि प्रकारको विकास स्थानीय समुदायको सहमति र सांस्कृतिक मूल्यको संरक्षण बिना हुन नसक्ने बताउँदै उनले आन्दोलनरत नागरिकहरूसँग वार्ता र संवादमार्फत समस्या समाधान गर्न माग गरेका छन्। 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement