गान्तोक: पूर्व सिक्किमको रम्फूमा आज अखिल सिक्किम खस छेत्री बाहुन कल्याण सङ्घले वनभोज साथै युवा अधिवेशन आयोजना गरियो। कार्यक्रममा सिक्किम सरकारको ग्रामीण विकास विभागका मन्त्री अरुण उप्रेती मुख्य अतिथि रहेका थिए। साथमा शिक्षा मन्त्री राजु बस्नेत, खस समुहबाट रहेका विधायकहरू, अन्य जातीय सङ्गठनका प्रतिनिधि लगायत सिक्किमभरिबाट आएका खस सदस्यहरूको उत्साहजनक उपस्थिति थियो।
सङ्घका अध्यक्ष नारायण खतिवडाले कार्यक्रममा स्वागत सम्बोधनसँगै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए। यसरीनै कार्यक्रममा खसको चिनारी, संस्कृति, परम्परा तथा अन्य विविध विषयहरूलाई समेटेर प्रश्नोत्तर प्रतियोगिता पनि आयोजना गरिएको थियो। यसरी नै विभिन्न वक्ताहरूले खस समुदाय सम्बन्धित विभिन्न विषयमाथि जानकारीमूलक वक्तव्य प्रस्तुत गरे भने खस संस्कृति अनि परम्परामाथि नरबहादुर भण्डारी सरकारी महाविद्यालय, तादोङका सहायक प्राध्यापक डा. टेकबहादुर छेत्रीले विस्तृत जानकारी प्रस्तुत गरे।
कार्यक्रममा सिक्किमका विभिन्न खस कलाकारहरूले साङ्गीतिक प्रस्तुती पनि दिएका थिए।