गान्तोक: गत सेप्टेम्बर महिनादेखि शुरू भएको भारतीय जनता पार्टीको सदस्यता अभियान अनि सांगठनिक चुनाउको क्रम आज प्रदेश अध्यक्ष अनि राष्ट्रिय परिषद् सदस्यको चुनाउसँगै समापन भएको छ। आज सिङ्तामस्थित पार्टी कार्यालयमा सम्पन्न सांगठनिक चुनाउमा निवर्तमान अध्यक्ष डीआर थापा पुनः प्रदेश अध्यक्ष निर्वाचित भएका छन् भने पूर्वमन्त्री एनके सुब्बालाई राष्ट्रिय परिषद् सदस्यको रूपमा चयनित गरिएको छ। पार्टीका पूर्वोत्तर राज्य सह-संयोजक भी. मुरलीधरणले प्रदेश अध्यक्ष अनि राष्ट्रिय परिषद् सदस्यको घोषणा गरेका छन्। प्रदेश अध्यक्षको निम्ति निवर्तमान अध्यक्ष डीआर थापा सर्वसम्मतिले निर्विरोध निर्वाचित भएका हुन्। कार्यक्रममा हालै सम्पन्न सांगठनिक चुनाउमा निर्वाचित जिल्ला अध्यक्ष अनि मण्डल अध्यक्षहरूलाई अभिनन्दन जनाइएको थियो। यस अवसरमा राज्यभरिबाट प्रदेश परिषद्का सदस्यगण, वरिष्ठ पदाधिकारीगण साथै कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। नवनिर्वाचित प्रदेश अध्यक्ष डीआर थापाले आफ्नो सम्बोधनको क्रममा आफूलाई पुन समर्थनका लागि सम्पूर्ण भाजपा परिवारलाई आभार प्रकट गरे। यसैगरी उनले सांगठनिक चुनाउलाई विभिन्न स्तरमा सफलतापूर्वक सम्पन्न गराउन अहम योगदान दिने चुनाउ अधिकारीहरु अनि सम्पूर्ण टोलीलाई बधाई दिए। यसका साथै एनके सुब्बालाई राष्ट्रिय परिषद् सदस्यको रूपमा निर्वाचित भएकोमा शुभकामना दिएका छन्। यस अतिरिक्त उनले सम्पूर्ण पार्टी कार्यकर्ताहरूलाई सिक्किम र सिक्किमे जनताको कल्याण साथै सांगठनिक विस्तार गरेर यसलाई मजबुत बनाउन सामूहिक पहलको आह्वान गरे। आफ्नो सम्बोधनमा एनके सुब्बाले नवनिर्वाचित अध्यक्षलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै विगत २ महिनादेखि चलिरहेको सागठनिक चुनाउ अनि विस्तार अभियानको विवरण प्रस्तुत गरे। उनले यस अभियानलाई सफल बनाउन लागिपर्ने सबै पक्षलाई धन्यवाद दिँदै आगामी दिनमा तृणमूल स्तरमा पार्टीको विस्तारलाई निरन्तरता दिनुपर्ने कुरामा जोर दिए। यस अघि, भाजपा पूर्वोत्तर सह-संयोजक श्री भी. मुरलीधरणले कार्यकर्ताहरूलाई सदैव जनताको आवाज बनेर एउटा मजबुत विपक्षी पार्टीको भूमिकामा अघि बढ्ने आग्रह गरे। उनले भाजपाको सुशासन अनि विकासको लक्ष्यलाई सिक्किममा पनि साकार बनाउन अहिलेदेखि नै कटिबद्ध भएर काम गर्नुपर्ने कुरामा जोर दिए।