गान्तोक: १५औं राष्ट्रीय मतदाता दिवसको अवसरमा आज राज्यका सबै जिल्लाहरूमा विभिन्न कार्यक्रमसितै पालन गरियो। यसक्रममा गेजिङ जिल्लाको राब्देञ्चीस्थित जिल्ला प्रशासनिक केन्द्रमा राष्ट्रीय मतदाता दिवस पालन गरियो। यस कार्यक्रमको थिम मतदानजस्तो केही छैन, म निश्चित रूपमा मतदान गर्छु – रहेको थियो। यस अवसरमा जिल्लापाल तेञ्जिङ डी. डेञ्जोङपा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने पुलिस अधीक्षक छिरिङ शेर्पा, अतिरिक्त जिल्लापाल रजनी शर्मा लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। कार्यक्रममा जिल्लापाल डेन्जोङ्पाले नयाँ दर्ता भएका मतदाताहरूलाई चुनावी फोटो पहिचान कार्ड प्रदान गर्दै विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा गर्व गर्ने सहभागीहरुलाई बधाई दिए। सिक्किम राज्यमा आफ्नो प्रारम्भिक चुनावी अनुभवहरूलाई सम्झँदै, उनले चुनावी सफलता सुनिश्चित गर्न बीएलओहरूको महत्त्वपूर्ण भूमिकामाथि प्रकाश पारे। यसका साथै उनले आफ्नो कर्तव्यहरू सठीकताका साथ पूरा गर्न आग्रह गरे। उनले निर्वाचन प्रक्रियाबारे प्रकाश पार्दै निर्वाचन अधिकारीहरूको भूमिका र जिम्मेवारीहरूबारे स्पष्ट पारे। नयाँ मतदाताहरूलाई सम्बोधन गर्दै जिल्लापाल डेन्जोङ्पाले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको अभिन्न अंग हुने विशेषाधिकारमा जोड दिए। उनले थप जानकारी गराए अनुसार सफल चुनाउ सम्पन्न गराउन सहयोगी टोली कार्यको परिणाम हो। जिल्लापालले गेजिङ जिल्लालाई सिक्किम भित्र एक आदर्शको रूपमा चिनाउन प्रतिबद्धता दोहोऱ्याए। सोही प्रकारले मंगन जिल्लाको जिल्ला चुनाउ प्रेक्षागृहमा राष्ट्रीय मतदाता दिवस पालन गरियो। यस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य नयाँ मतदाताहरूलाई विशेष गरी युवाहरूमाझ जागरूकता जगाउनु र जीवन्त र समावेशी निर्वाचन प्रणाली सुनिश्चित गर्ने विषयमा जानकारी दिइयो।

यस्तैगरि मंगन जिल्लापाल अनम्त जैनले लोकतन्त्रमा मतदानको महत्त्वपूर्ण भूमिकाबारेमा विस्तृतरूपमा जानकारी गराए। उनले हालैका चुनावहरूमा सहज र पारदर्शी प्रक्रिया सुनिश्चित गर्न अथक प्रयास गर्ने सबै अधिकारी र कर्मचारीहरूलाई बधाई र धन्यवाद दिए। उनले मतदाताहरूलाई जिम्मेवारीपूर्वक आफ्नो अधिकार प्रयोग गर्न प्रोत्साहित गर्दै निर्वाचन प्रणालीको अखण्डता कायम राख्नुपर्ने आवश्यकतामाथि प्रकाश पारे। यस अवसरमा नयाँ दर्ता भएका मतदाताहरूलाई मतदाता परिचयपत्र पनि वितरण गरियो। यो प्रतिकात्मक कार्यले लोकतान्त्रिक प्रणालीमा उनीहरूको प्रवेशलाई मात्र संकेत नगरेर राष्ट्रको भविष्यलाई आकार दिन उनीहरूको सक्रिय संलग्नताको महत्त्वमाथि पनि जोड दिए। यसरी नै पाकिम जिल्लाको रूरवन कम्पलेक्स भवनमा पनि १५औं राष्ट्रीय मतदाता दिवस पालन गरियो। जिल्ला चुनाउ अधिकारीहरूद्वारा आयोजित यस कार्यक्रममा पाकिम जिल्लाका जिल्लापाल रोहन आगवाने मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। कार्यक्रममा चुनाउ प्रकोष्ठका अधिकारी सुदर्शन शर्माले राष्ट्रीय मतदाता दिवस प्रत्येक वर्ष १५ जनवरीमा पालन गर्दै आइरहेको जानकारी गराए। शर्माले लोकतान्त्रिक क्रियाकलापमा सहभागी बन्न र यसको संरक्षण गर्न राष्ट्रिय मतदाता दिवस प्रत्येक वर्ष पालन गरिएको अवगत गराए। उनले पहिलो पटक युवक मतदाताहरूलाई आफ्नो मतदान अधिकार प्रयोग गर्न र निर्वाचन प्रक्रियाको महत्त्वबारेमा जागरूकता जगाउन आग्रह गरे। सोही क्रममा गान्तोक जिल्लाको सूचना एवं जनसम्पर्क विभाग परिसरमा पनि राष्ट्रीय मतदाता दिवास पालन गरियो। यस अवसरमा उपनिर्देशक जीएस सुब्बाले सबै अधिकारीहरूलाई शपथ ग्रहण गराए। प्रत्येक वर्षको २५ जनवरीमा राष्ट्रीय मतदाता दिवस पालन गरिन्दै आएको छ भने यो दिन भारतका सबै राज्यहरूमा पालन गरिन्छ। विशेष गरेर २५ जनवरी १९५० मा भारतीय चुनाउ आयोगको गठन गरिएको हुनाले गर्दा आजको दिन राष्ट्रीय मतदाताकोरूपमा पालन गर्ने प्रचलन रहेको छ। यसरी नै नाम्ची जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा पनि १५औं राष्ट्रीय मतदाता दिवस पालन गरियो। यस अवसरमा नाम्ची जिल्लाका अतिरिक्त जिल्लापाल सुवास घिमिरे, महकुमा अधिकारी निम पिन्छो भोटिया लगायत विभिन्न विभागका अधिकारीहरूले सहभागिता जनाएका थिए। यस अवसरमा अतिरिक्त जिल्लापालले सबै अधिकारीहरूलाई राष्ट्रीय मतदाताको अवसरमा शपथ ग्रहण गराउँदै भारतीय चुनाउ आयोगका मुख्य आयुक्तद्वारा जारी गरिएको सन्देश भीडियो मार्फत देखाए।

यसै क्रममा १८ वर्ष पुगेका नयाँ युवाहरूलाई मतदाता पत्र पनि प्रदान गरियो। यसै क्रममा राजधानीस्थित टाशीलिङ सचिवालयमा पनि १५ औं राष्ट्रीय मतदाता दिवस पालन गरियो। उक्त कार्यक्रममा डीओपीका सचिव रिञ्जिङ छेवाङले विभागका सबै अधिकारीहरूलाई शपथ ग्रहण गराए। सचिवले राष्ट्रको लोकतान्त्रिक परम्परा र स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचनको गरिमालाई कायम राख्ने र धर्म, जाति, जाति, समुदाय, भाषा वा कुनै पनि प्रलोभनबाट प्रभावित नभई निर्भयतापूर्वक प्रत्येक निर्वाचनमा मतदान गर्ने प्रतिबद्धता जनाउँदै शपथ ग्रहण गराए।