नयाँ दिल्ली: इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोलाई आज भारतका राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत जनाए। अक्टोबर २०२४ मा पदभार सम्हालेपछि यो प्रबोवो सुबियान्तोको पहिलो औपचारिक भारत भ्रमण हो। उनको यो यात्रा भारत-इन्डोनेसिया सम्बन्धका लागि एक महत्त्वपूर्ण अध्याय मानिन्छ, किनभने राष्ट्रपति प्रबोवो सुबियान्तो आइतबार भारतको ७६औं गणतन्त्र दिवस समारोहमा मुख्य अतिथिका रूपमा सहभागी हुँदैछन्। राष्ट्रपति प्रबोवो सुबियान्तो बिहीबार साँझ नयाँ दिल्ली आइपुगेका थिए। विमानस्थलमा उनलाई भारतका विदेश राज्य मन्त्री पबित्रा मार्गेरिटाले स्वागत गरे। औपचारिक स्वागतपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले यो सम्मानप्रति गहिरो आभार व्यक्त गरे। इन्डोनेसियाली राष्ट्रपतिले भने, “म आज मलाई प्राप्त यो महान सम्मानका लागि गहिरो कृतज्ञता व्यक्त गर्न चाहन्छु। इन्डोनेसियाले भारतलाई आफ्नो अत्यन्त निकट मित्रको रूपमा मान्दछ। भारतले हाम्रो स्वतन्त्रतालाई मान्यता दिने र स्वतन्त्रताका लागि हाम्रो संघर्षमा समर्थन गर्ने पहिलो देशमध्ये एक, सायद पहिलो, हो। भारतले हाम्रो सहयोगका लागि गरेको योगदान हामी कहिल्यै भुल्ने छैनौं।” उनले भने, “आज मलाई धेरै सम्मानित महसुस भएको छ, र भोलि तपाईँको गणतन्त्र दिवस परेडमा मुख्य अतिथि बनेर दोब्बर सम्मानित महसुस गर्नेछु। म भारतसँग घनिष्ठ सहयोग र साझेदारीलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु। यो मेरो दृढ निश्चय हो।” शुक्रबार विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति प्रबोवोसँग भेट गरे। यस भेटघाटको तस्वीर ‘एक्स’ मा साझा गर्दै मन्त्री जयशंकरले भने, “भारतको औपचारिक राजकीय भ्रमणको शुरुवातमा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोसँग भेट गर्न पाउँदा खुशी लाग्यो। हाम्रो बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउन उहाँको मार्गदर्शन र सकारात्मक भावना प्रशंसनीय छ।”