सोनादा: भूतपूर्व सैनिक वेलफेयर एसोसिएसन पचेङ शाखाको रजत वर्ष अर्थात २५ वर्ष पुगेको अवसरमा गत १९ जनवरीदेखि निम्न सोनादा पचेङको दुबे खेल मैदानमा सिल्भर जुबली नक आउट फुटबल टुर्नामेन्ट शुरु भएको छ। यस फुटबल टुर्नामेन्ट अन्तर्गत आजको खेल सोनादा पुलिस आउट पोष्ट र पयौँ डाँडा एफसीमाझ सम्पन्न भएको थियो। यस खेलमा सोनादा पुलिस आउट पोष्टले पयौँ डाँडा एफसीलाई ६-१ को अन्तरले जितेर दोस्रो चरणमा प्रवेश गरेको छ। यस खेलमा अतिथिको रुपमा पूर्व इन्स्पेक्टर (बीएमपी) जेके राई, चुङथुङ उच्चत्तर माध्यमिक विद्यालयको पूर्व प्रधान अध्यापक रामराज राफ लगायत अन्यहरु उपस्थित रहेका थिए। आजको खेलमा म्यान अफ् द म्याच सोनादा पुलिस आउट पोष्टको जर्सी नम्बर केवल थापा चयन भएका छन्। यस फुटबल टुर्नामेन्टमा दार्जीलिङ, खरसाङ, सिलगढी क्षेत्रबाट २० वटा टिमहरुले सहभागिता जनाएका छन्। अब अर्को खेल आगामी २६ जनवरीमा लेबर युनियन र यङ्ग बोइस सोनादामाझ सम्पन्न हुने भएको छ।

यस फुटबल टुर्नामेन्टको विजेतालाई ट्रफीससहित डेढ लाख रुपियाँ र उप विजेतालाई ट्रफीससहित एक लाख रुपियाँ प्रदान गरिने भएको छ भनी भूतपूर्व सैनिक कल्याण वेलफेयर एसोसिएसन पचेङ शाखाको सभापति अननेरी कप्तान एलबी राईले जानकारी गराएका छन्।