सिलगढी: उत्तर बङ्गाल मेडिकल कलेज अस्पतालमा जलपाईगढीको कुचुआ नन्दनपुर गाउँकी गृहिणी शान्तना रोयको मृत्युलाई सिलगढीका विधायक शंकर घोषले हत्या भनेका छन्। आज उनले उत्तर बङ्गाल मेडिकल कलेज अस्पतालका अधीक्षकसँग भेट गरेर यस सम्बन्धमा जानकारी लिएका छन्। त्यसपछि पत्रकारहरूसँग कुरा गर्दै उनले राज्य सरकार, स्वास्थ्य विभाग र मुख्यमन्त्री ममता ब्यानर्जीमाथि कडा आलोचना गरे। उनले भने, ‘शान्तना रोयको मृत्यु सामान्य घटना होइन, यो हत्या हो। किनभने पोर्टेबल डायलाइसिस मेसिनको अभावका कारण उनलाई उचित उपचार उपलब्ध गराउन नसक्दा मृत्यु भएको हो। उत्तर बङ्गाल मेडिकल कलेज अस्पताल उत्तर बङ्गालको सबैभन्दा ठूलो अस्पताल हो, तर यहाँ १०.३० लाख रुपैयाँको पोर्टेबल डायलाइसिस मेसिन समेत छैन।‘ अस्पतालका अधीक्षकले बताएअनुसार, उनीहरूले बारम्बार पोर्टेबल डायलाइसिस मेसिनका लागि आवेदन दिएका थिए, तर कोष उपलब्ध नगराइएको बताए। विधायक घोषले आरोप लगाए कि सरकारी अस्पताल र मेडिकल कलेजलाई जानीजानी कमजोर बनाएर राखिएको छ, ताकि मुख्यमन्त्री ममता ब्यानर्जी र उनकी सरकार नर्सिङ होमहरूबाट पैसा असुल गर्न सकून्। ‘यदि उत्तर बङ्गाल मेडिकल कलेजमा पोर्टेबल डायलाइसिस मशिन थिएन भने शान्तना रोयलाई कोलकाता किन लैजान सकिएन? के उनी उत्तर बङ्गालकी महिला भएकाले त्यहाँबाट स्थानान्तरण गर्न नलगेको हो? जबकि मेदिनीपुरका महिलाहरूलाई तत्काल कोलकाता स्थानान्तरण गरिएको थियो। मुख्यमन्त्री ममता ब्यानर्जी उत्तर बङ्गालप्रति यस्तो विभेद किन गर्दैछिन्?’, उनले प्रश्न गरेl उनले अझ भने, ‘मुख्यमन्त्रीलाई थाहा छ सरकारी अस्पतालहरूको अवस्था अत्यन्तै खराब छ। यही कारण हो कि कुनै पनि पुलिसलाई गोली लागेमा उनलाई मेडिकल कलेजमा होइन, निजी नर्सिङ होममा भर्ना गरिन्छ।‘
शंकर घोषले भने कि उनी पीडित परिवारको साथमा छन् र आजै यो घटनामा एफआईआर दर्ता गराउनेछन्। साथै, पीडित परिवारलाई ५० लाख रुपियाँ क्षतिपूर्ति दिनुपर्ने माग पनि माग गरे। जलपाईगढीको कुचुआ नन्दनपुर गाउँकी गृहिणी शान्तना रोयको शुक्रबार निधन भएको थियो। केही दिनअघि उनलाई जलपाईगढी प्रसूति वार्डबाट उत्तर बङ्गाल मेडिकल कलेजमा स्थानान्तरण गरिएको थियो। शान्तना रोयलाई प्रसव पीडा भएपछि दिसम्बर २९ मा जलपाईगढी मेडिकल कलेज अन्तर्गत मदर चाइल्ड हबमा भर्ना गरिएको थियो।