नाम्ची: नाम्ची जिल्लाकी जिल्लापाल अनुपा तामलिङको अध्यक्षतामा २०२५ को निम्ति पहिलो मासिक नार्को समन्वय सभा सम्पन्न भयो। नाम्ची जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको सभामा जिल्लामा नशालु पदार्थ दुरुपयोग र अवैध ओसारपसार नियन्त्रण गर्न जारी पहलहरूको बारेमा छलफ गरियो।
बैठकमा सीएमओ, नाम्ची डा. एसएन अधिकारी, महकुमा अधिकारी निम पिन्छो भोटिया, एएसपी विनिता प्रधान लगायत अन्यहरूको उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै जिल्लापालले विद्यार्थीहरू नशालु पदार्थको प्रयोगमा संलग्न छन् कि छैनन् भनी सुनिश्चित गर्न कोचिङ सेन्टरमा विद्यार्थीहरूमाथि निगरानी राख्नु पर्ने आवश्यकतामाथि जोड दिइन्। उनले बार र दोकानहरूमा नाबालिगहरूको उपस्थितिलाई लिएर जागरूकतामाथि बल दिॅंदै २१ वर्ष भन्दा कम उमेरका व्यक्तिहरूलाई मदिरा बिक्री गर्नु नहुने कानुनीलाई कडाइका साथ लागू गर्न आह्वान गरिन्।
जिल्लापालले नाबालिग व्यक्तिहरूको निगरानी गर्ने उपायकोरूपमा जिल्लाभरिका मदिरा पसलहरूमा सीसीटीभी क्यामेराहरू अनिवार्य रूपमा जडान गर्न निर्देश दिइन्। उनले शैक्षिक संस्थान, पूजास्थल र अस्पतालहरू नजिक मदिरा दोकानहरूलाई अनुमति दिनु नहुने पनि दोहोऱ्याइन्। उनले सबै विभागहरूलाई कम ज्ञात दोकानहरू र स्थानहरूमा ध्यान केन्द्रित गर्दै निरन्तर सतर्कता अपनाउन आह्वान गरिन्।