जीटीए प्रमुख अनित थापाद्वारा उदघाटन
खरसाङ: शुक्रबारदेखि तीन दिवसीय खरसाङ वाइट अर्किड फेस्टिभल शुरु भएको छ। यस खरसाङ वाइट अर्किड फेस्टिभल आगामी २६ जनवरीसम्म चल्ने भएको छ। उक्त तीन दिवसीय खरसाङ वाइट अर्किड फेस्टिभलको शुरुवात सांस्कृतिक र एकता शोभायात्राको साथमा शुरुवात भएको छ। उक्त सांस्कृतिक र एकताको शोभायात्रा खरसाङको बस बिसौनीबाट शुरु भएर खरसाङ बजार परिक्रमा गर्दै कार्यक्रम स्थल मन्टिभियट खेल मैदानसम्म पुगेर समापन भएको छ। उक्त सांस्कृतिक र एकता शोभायात्रामा लाखे नृत्य र नौमजी बाजाको साथमा आयोजना गरिएको थियो। उक्त शोभायात्रामा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा, जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान, सभासदहरु रतन थापा, श्याम शेर्पा, नुरी शेर्पा, खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री प्रधान, विभिन्न सांस्कृतिक विकास बोर्डहरुका चेयरम्यानहरु लगायत अन्य विशिष्ट व्यक्तिहरू उपस्थित रहेका थिए।

उक्त शोभायात्रा मन्टिभियट खेल मैदानमा पुगेर कार्यक्रममा परिणत भएको थियो। उक्त तीन दिवसीय खरसाङ वाइट अर्किड फेस्टिभलको उदघाटन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले धुप दीप प्रज्ज्वलन गरेर गरेका थिए। यस अवसरमा विभिन्न जात गोष्ठीहरूको सांस्कृतिक विकास बोर्डहरुबाट रैप वर्क गरिएको थियो भने सिंगे नृत्य पनि आयोजना गरिएको थियो। यसको साथै विभिन्न सांस्कृतिक नृत्यहरू र सांस्कृतिक फेशन शोको पनि आयोजना गरिएको थियो। यो कार्यक्रम आगामी २६ जनवरीसम्म आयोजना गरिने भएको छ।

यस तीन दिवसीय वाइट अर्किड फेस्टिभलमा आयोजना गरिने विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ। यस तीन दिवसीय वाइट अर्किड फेस्टिभलमा सांगीतिक ब्याण्ड प्रतियोगिता, फेशन शो जसमा गोर्खा सुन्दर र मनमोहक सुन्दरी, ६० वर्ष नाघेका वयस्क महिलाहरुका लागि वाक्कथन, म्याराथन, चुंगी प्रतियोगिता, विभिन्न फिटनेस प्रतियोगिताहरु, आर्म रेस्लिङ्ग लगायत विभिन्न स्थानीय र बाहिरका चर्चित सांगीतिक टोलीको प्रस्तुति रहने भएको छ।

पहिलो दिनको साँझ स्थानीय सांगीतिक टोलीहरुले कार्यक्रम प्रस्तुति दिएका थिए। खरसाङ वाइट अर्किड फेस्टिभलको दोस्रो र तेस्रो दिन विभिन्न सांस्कृतिक र सांगीतिक कार्यक्रमहरुसितै विभिन्न प्रतियोगितामूलक कार्यक्रमहरु आयोजना गरिने जानकारी प्राप्त भएको छ।