अष्ट्रेलियन ओपन २०२५: लगातार तेस्रोपल्ट च्याम्पियन बन्नेदेखि एक कदमको दुरीमा सबालेंका, कीजसँग भिड़न्त तय

photocollage_202512412427772

मेलबर्न: शीर्ष वरीयता प्राप्त आर्यना सबालेंका लगातार तेस्रो अष्ट्रेलियन ओपन टेनिस टुर्नामेण्टको खिताब जित्नदेखि केवल एक कदमको दूरीमा रहेकी छन्। बेलारुसकी यस दिग्गज खेलाड़ीले महिला एकलको सेमिफाइनलमा आफ्नो मित्र स्पेनकी पाउला बाडोसालाई सीधा सेटमा ६-४, ६-२-ले पराजित गरिन्। अब फाइनल म्याचमा पनि जीत हासिल गर्न सके सबालेंका लगातार तीनपल्ट अष्ट्रेलियन ओपनको खिताब जित्ने यस शताब्दीको पहिलो महिला टेनिस खेलाड़ी बन्नेछिन्। यसअघि अन्तिमपल्ट स्विट्जरल्याण्डकी मार्टिना हिंगिसले १९९७-देखि १९९९-सम्म सालको पहिलो ग्राण्ड स्ल्याममा खिताब जितेकी थिइन्। महिला एकलको फाइनलमा सबालेंकाको भिड़न्त अमेरिकाकी १९औं वरीयता प्राप्त मेडिसन कीजसँग हुनेछ। २९ वर्षीय कीजले दोस्रो सेमिफाइनलमा दोस्रो वरीयता प्राप्त तथा २०२२-की च्याम्पियन पोल्याण्डकी इगा स्वियातेकलाई तीन सेटमा ५-७, ६-१, ७-६ (८)-ले पराजित गरी फाइनलमा स्थान बनाइन्। कीजको यो दोस्रो ग्राण्ड स्ल्याम फाइनल हुनेछ। २०१७-को यूएस ओपनमा फाइनल खेल्ने कीजले यसअघि दुईपल्ट यस टुर्नामेण्टको सेमिफाइनलमा स्थान बनाएकी थिइन्। यसपाली कीजले ठूलो उलटफेर गरिन् कारण सेमिफाइनल म्याच अघि स्वियातेकले टुर्नामेण्टमा एक सेट पनि गुमाएकी थिइनन्।
सेमिफाइनलमा सबालेंकाले धीमा शुरुवात गरिन्। शुरुवातमा उनी ०-२-ले पछि रहेकी थिइन् तर उनले असाधारण पुनरागमन गर्दै प्रतिद्वन्द्वी खेलाड़ीलाई कुनै मौका दिइनन्। म्याचपछि सबालेंकाले भनिन्, ईमानदारीपूर्वक भन्नु पर्दा मैले त लगातार तेस्रोपल्ट फाइनल खेल्ने सपना पनि देखेकी थिइनँ। मैले कम्तीमा एउटा ग्राण्ड स्ल्याम जित्ने सपना देखेकी थिएँ तर अहिले मसँग मेलबर्नमा लगातार तेस्रोपल्ट च्याम्पियन बन्ने मौका छ। यो अविश्वसनीय हो। म तेस्रोपल्ट अष्ट्रेलियन ओपन जित्न जे पनि छोड़्न तयार छु। सबालेंका र बाडोसा असल मित्र हुन्। सबालेंकाले भनिन्, उनी एक-दुई दिन मसँग रिसाउनेछिन् तर हामी फेरि साथी हुनेछौं अनि एकसाथ शपिंग गर्न जानेछौं। उनले जे किने पनि म भुक्तान गर्नेछु। यति चाहिँ म वाचा गर्न सक्छु। यसरी बाडोसाले भनिन्, सबालेंकाले आज असाधारण टेनिस खेलिन्। आज उनले ढुंगा छोएकी भए पनि त्यो सुन हुने थियो। सबालेंकाले पूरा म्याचमा ३२ वटा विनर्स लगाइन्।
यसरी मेडिसन कीजको जीत अप्रत्याशित थियो। तेस्रो सेटमा स्वियातेक म्याच पोइण्टको निम्ति सर्विस गरिरहेकी थिइन् तर कीजले असाधारण संघर्ष क्षमताको परिचय दिँदै स्वियातेककी सर्विस तोड़ेर सेटमा ६-६-को बराबरी हासिल गरिन्। सुपर टाईब्रेकरमा पनि कीज शुरुदेखि नै पछाड़िएकी थिइन् तर उनले अन्तमा ८-८-को बराबरी हासिल गरिन् अनि अन्तमा १०-८-ले टाईब्रेकर जितेर फाइनलमा स्थान बनाइन्। म्याच जितेपछि कीजको आँखामा आँशु थियो। तौलियाले मुख छोपेर उनी धुरुधुरु रोईन्। उनी ८ सालपछि कुनै ग्राण्ड स्ल्यामको फाइनलमा पुगेकी छन् तर उनले अहिलेसम्म कुनै ग्राण्ड स्ल्याम चाहिँ जित्न सकेकी छैनन्। २०१७-को यूएस ओपन फाइनलमा उनी आफ्नै देशकी स्लोएन स्टीफन्सविरुद्ध पराजित भएकी थिइन्। कीजको निम्ति टुर्नामेण्टमा यात्रा यादगार रह्यो। उनले फाइनलसम्मको गोरेटोमा पूर्व विम्बल्डन च्याम्पियन एलिना रिबाकीना, एलिना स्वितोलिना जस्ता खेलाड़ीहरूलाई पराजित गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement