गान्तोक: आगामी २९-३० जनवरीको दिन राजधानीस्थित पाल्जोर स्टेडियमको जिम्नाजियम हलमा राज्यमा पहिलो सिक्किम खुल्ला इन्टरनेश्नल कराँते प्रतियोगिता शुरू हुने भएको छ। सिक्किम स्टेट कराँते डु एसोसिएशनको पहलमा आयोजना हुने यस अन्तराष्ट्रीयस्तरको प्रतियोगितामा सातसय भन्दा अधिक खेलाडीहरूले सहभागिता जनाउने विधायक एवं आयोजक समितिका प्रमुख संरक्षक लोकनाथ नेपालले जानकारी गराए। राजधानीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै विधायक नेपालले उक्त प्रतियोगितामा नेपाल, भोटान, जापान लगायत देशको विभिन्न राज्यका कराँते खेलाडीहरूले अंशग्रहण गर्ने बताए। सिक्किम राज्यबाट मात्र दुईसय भन्दा अधिक खेलाडीहरूले भाग लिने निश्चित रहेको जानकारी गराए। उदघाटन कार्यक्रमको पहिलो चरणमा राज्यका शिक्षा एवं खेलकूद युवा मामिला विभागीय मन्त्री राजु बस्नेत मुख्य अतिथिकोरूपमा उपस्थित रहनेछन्। दोस्रो चरण साँझको खेलमा ग्रामीण विकास विभागीय मन्त्री अरूण उप्रेती मुख्य अतिथिकोरूपमा उपस्थित हुने विधायक नेपालले अवगत गराए। यसरीनै ३० जनवरी समापनको दिन राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित हुने बताए। उक्त प्रतियोगितामा सब जुनियर, क्याडेट, जुनियर पुरूष अनि महिलावर्गले सहभागिता जनाउने छन् भने सिनियर मेन्स र वुमेन्सको निम्ति पनि प्रतियोगिता रहने विधायकको भनाइ रहेको छ। यस अवसरमा आयोजक समितिका अध्यक्ष विजय गुरूङले पनि पत्रकारहरूलाई सम्बोधन गरेका थिए।











