गान्तोक: नार्को समन्वय समितिको एक सभा आज गेजिङ जिल्लाको राब्देञ्चीस्थित जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो। गेजिङ जिल्लाका जिल्लापाल एवं नार्को समन्वय समितिका अध्यक्ष तेञ्जिङ डी. डेञ्जोङपाको अध्यक्षतामा सम्पन्न भएको सभामा गेजिङ जिल्लाका पुलिस अधिक्षक छिरिङ शेर्पा लगायत विभिन्न विभागका हितधारकहरूले पनि अंशग्रहण गरेका थिए भने सभामा नशालु पदार्थको दुरूपयोग र व्यापारबारेसँग सम्वन्धित विषयमाथि चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणबारे छलफल गरियो। सभालाई सम्बोधन गर्दै जिल्लापालले यस भन्दा अधि सम्पन्न भएको सभामा लिएको निर्णय र कार्यान्वयनबारे समीक्षा गर्दै लागूपदार्थको समस्यालाई समाधान गर्न सहयोगको आवश्यकतामाथि जोड दिए। उनले अन्तरविभागीय समन्वयको महत्त्वमा जोड दिँदै यसको निम्ति व्यापकरूपमा जनचेतना अभियान शुरू गर्ने आह्वान गरे। उनले युवा विद्यार्थीहरूलाई नशालु पदार्थबाट जोगाउने उद्देश्यले जागरूकता कार्यक्रमहरू कार्यान्वयन गर्न कुरामा जोर दिए। उनले नशालु पदार्थविरुद्ध खरोरूपमा उत्रिने तयारीबारे उल्लेख गरे। यस अवसरमा पुलिस अधिक्षक छिरिङ शेर्पाले नशालु पदार्थ नियन्त्रणलाई लिएर गेजिङ पुलिसले गरेको विभिन्न प्रकारको गतिविधिबारे रिपोर्ट प्रस्तुत गरे। उनले नशालु पदार्थको धन्दामा लिप्त तस्करी रोक्न प्रभावी पहल भएको उल्लेख गरे। यस अवसरमा चिफ मेडिकल अधिकारी विकास प्रधानले नशालु पदार्थको समस्यालाई समाधान गर्न स्वास्थ विभागले गरेको विभिन्न गतिविधिबारे अवगत गराए। सोही प्रकारले एसआइबीका अतिरिक्त निर्देशक अमरजित कुमार सिन्हाले सबै चेकपोस्टहरूमा ट्याक्सी अनि ट्रकहरूको नियमित जाँच गर्नुपर्ने सुझाउ राख्दै यदि कुनै प्रकारको सूचना प्राप्त भएमा शीघ्र पुलिस अधिक्षक अनि जिल्लापालसँग सम्पर्क बनाउनु पर्ने सुझाउ दिए।