गान्तोक: ऐतिहासिक जोरथाङ माघे संक्रान्ति मेला २०२५ मंगलवार समापन भएको छ।
समापन समारोहमा देशका एक प्रसिद्ध गायक कैलाश खेर र पवनदीप राजनले आफ्नो मनमोहक साङ्गीतिक प्रस्तुति दिए।मुख्यमन्त्रीले हप्ताव्यापी माघे संक्रान्ति मेलाको समापन समारोहमा उपस्थित हुन पाउँदा सम्मानित महसुस गरेको आफ्नो एक फेसबुक पोस्टमा उल्लेख गरेका छन्। उनले जीवन्त सांस्कृतिक प्रदर्शन, खेलकुद गतिविधिहरू र विभिन्न कार्यक्रमहरूको साथमा भव्यरूपमा उत्सवको समापन भएको बताएका छन्।मुख्यमन्त्रीले यस प्रतिष्ठित मेलामा शान्ति र सद्भाव कायम राख्नका लागि अतुलनीय सहयोग पुऱ्याउने प्रशासनका सबै विभागहरू, पुलिस बल र सिक्किमका जनताप्रति आन्तरिक ह्रदयदेखि कृतज्ञता व्यक्त गरेका छन्। चौबिसै घण्टा खुला रहेको यसपालीको माघे मेला राज्यको इतिहासमा एक उल्लेखनीय उपलब्धि रहेको उनले बताएका छन्।यसैगरी, उनले प्रसिद्व गायक पद्मश्री कैलाश खेर र उनको ब्यान्ड कैलासा लगायत इन्डियन आइडल सिजन १२ का विजेता पवनदीप राजनको साथमा साङ्गीतिक प्रस्तुतिको साक्षी बन्न पाउनु अत्यन्तै खुशीको क्षण रहेको बताउॅंदै उनीहरूका उत्कृष्ट प्रस्तुतिले यस ऐतिहासिक उत्सवमा जादुई स्पर्श थपेको उल्लेख गरेका छन्।