गान्तोक: सिटिजन एक्सन पार्टीले सिक्किमका प्रसिद्ध संगीत साधक, समाजसेवी, तथा पद्मश्री सम्मानित काजी सिंहको असामयिक निधनमा गहिरो दुःख व्यक्त गरेको छ। नेपाली लोकसंगीतमा अतुलनीय योगदान पुऱ्याएका सिंहले, विशेष गरी मादलको माध्यमबाट नेपाली संगीतलाई विश्वभर चिनाउने अभूतपूर्व कार्य गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। उनको योगदानको उच्च सम्मान स्वरूप, २०२२ मा सिंहलाई भारत सरकारद्वारा पद्मश्री पुरस्कार प्रदान गरिएको थियो। वर्ष १९७४ मा मादलको शास्त्रीय स्वरहरूको आविष्कार गरी नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठा दिलाउनमा सिंहको ऐतिहासिक योगदान रहेको पार्टीले बताएको छ। उनले कालेबुङमा “संस्कृति संरक्षण संस्था” स्थापना गरी गोर्खा र नेपाली लोकसंस्कृतिको संरक्षण र प्रवर्धनमा सक्रिय भूमिका निर्वाह गरेको जनकारी गराएको छ। सिक्किममा समेत संगीत शिक्षकको रूपमा उनले आफ्नो जीवन समर्पित गर्दै लोक संगीत र वाद्ययन्त्रहरूको शिक्षामा नवनिर्माण गरेका थिए। उनीद्वारा लिखित पुस्तकहरूले थुप्रै पुस्ताहरूलाई प्रेरित गर्न सक्ने पार्टीले सम्भावना व्यक्त गरेको छ। गोर्खा तथा नेपाली भाषी समुदायका गौरवशाली व्यक्तित्व काजी सिंहको निधनले नेपाली समाजमा अपूरणीय क्षति भएको पार्टीले जानकारी गराएको छ। उनको अनुपस्थितिले नेपाली समाजलाई गहिरो चोट पुऱ्याएको पार्टीले अनभूति गरेको छ। सिटिजन एक्सन पार्टी सिक्किमले उनको दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उनको चीर शान्तिको कामना गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।