खरसाङ: युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोग अनि खरसाङ खेलकुद संघको तत्त्वावधानमा आयोजित प्रतिष्ठित शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको बाह्रौं संस्करणमा ब्राइट स्पोर्टिंग क्लबले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। चानमारी खेल मैदानमा बुधवार भएको म्याचमा ब्राइट स्पोर्टिंग क्लबले युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी) विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट ज्वेल राणा र खोकन रोयले गोल गरे। यसरी यूकेएफसी को तर्फबाट सदिश राईले गोल गरे। ब्राइट स्पोर्टिंग क्लबका गोलकीपर जय दत्तले प्लेयर अव् द म्याच को पुरस्कार जिते। बिहीवार खेलिने पहिलो क्वार्टर फाइनल म्याचमा कालेबुङ पुलिस र हिल्स फूटबल एकाडमीबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा १२ वटा शीर्ष टीमहरूलाई प्रवेश दिइएको छ, जसमा उत्तर बंगालका शीर्ष क्लबहरूको साथमा नेपाल र कलकत्ताको टीम पनि सामेल छन्।

टुर्नामेण्टका दुईवटा सेमिफाइनल ३० र ३१ जनवरीमा हुनेछ। यसरी फाइनल २ फरवरीमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।