दार्जीलिङ: रेलिंग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा आयोजित रेलिंग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको पाँचौं सीजनमा जर्जियन फूटबल क्लबले फाइनलमा प्रवेश गऱ्यो। मंगलवार भएको पहिलो सेमिफाइनल म्याचमा जर्जियन फूटबल क्लबले प्लेईंग सेवेन (नेपाल)-विरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट कुञ्जमान थापाले ह्याट्रिक गरे। कुञ्जमानले प्लेयर अव् द म्याचको ट्रफी जिते। अब बुधवार खेलिने दोस्रो सेमिफाइनलमा बीएसके र लंगुरदांग गेम्स एण्ड स्पोर्टस एसोसिएशन (एलजीएसए)-बीच भिड़न्त हुनेछ । यसरी नै फाइनल २५ जनवरीमा हुनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा सेमिफाइनलमा हार्ने दुवै टीमलाई ५०-५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।