गान्तोक: आगामी २६ जनवरीको दिन पालन गरिने गणतन्त्र दिवस तयारीलाई लिएर राज्यका मुख्य सचिव आर तेलाङको अध्यक्षतामा टाशीलिङ सचिवालयमा एक समीक्षा सभा सम्पन्न भयो। आज सम्पन्न भएको सभामा विभिन्न विभागका प्रमुखहरू, सेना, आइटीबीपी, एसएसपी र राज्य सैनिक बोर्डका प्रतिनिधिहरूले अंशग्रहण गरेका थिए। सभामा विशेष गरेर आगामी दिनमा पालन गरिने गणतन्त्र दिवस समारोहको निम्ति विभिन्न कार्यक्रम, योजनाबारेमा छलफल गरिएको बताइएको छ। सो कार्यक्रमलाई कुनै बाधा अढचन विना सुव्यवस्थित कार्यान्वयन सुनिश्चित गर्न कार्यक्रमको हरेक पक्षको सावधानीपूर्वक समीक्षा गरियो। सभालाई सम्बोधन गर्दै मुख्य सचिव तेलाङले अधिकारीहरूलाई स्पष्ट निर्देशन दिँदै गर्दै कार्यक्रम सञ्चालनमा शुद्धता, अनुशासन र दक्षताको महत्त्वमा जोड दिए। उनले प्रत्येक खण्डको सावधानीपूर्वक योजना बनाउन, कुनै पनि चुनौतीहरूलाई सम्बोधन गर्न र तोकिएका नियमलाई कार्यान्वयन सुनिश्चित गर्न निर्देशन दिए। उक्त अवसरमा स्थानीय कलाकारहरू, अन्य राज्यका कलाकारहरूको सहभागिता र राज्यको समृद्ध सांस्कृतिक सम्पदा प्रदर्शन गर्ने व्यवस्थाहरूको विस्तृत रूपमा सांस्कृतिक प्रदर्शनहरूको समीक्षा गरियो। विशेष गरेर सो कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउनको निम्ति ट्राफिक र यातायात व्यवस्थापनबारेमा पनि विस्तृत छलफल गरियो। सम्बन्धित विभागहरूले उत्सवको दिन आवागमनलाई सहज बनाउन ट्राफिक डाइभर्सन, पार्किङ व्यवस्था र सार्वजनिक यातायात पहुँचको योजनाहरूमाथि प्रकाश परियो। सोही प्रकारले अन्य सम्बन्धित विभागका अधिकारीहरूले अध्यक्षलाई आ-आफ्नो गतिविधि र तयारीहरूको बारेमा जानकारी गराए। मुख्य सचिवले भव्य र बाधाविहिनमुक्त उत्सव सुनिश्चित गर्न अन्तरविभागीय समन्वय र सावधानीपूर्वक योजनाको महत्त्वमाथि जोड दिए। उनले सबै विभागहरूलाई नजिकबाट सहकार्य गर्न र तयारीको लागि समयसीमा पालना गर्न निर्देशन दिए।