सप्ताहव्यापी जोरथाङ सङ्क्रान्ति माघे मेला विविध कार्यक्रमसँगै समापन

IMG-20250121-WA0279

जोरथाङ: बलिवुडका ख्यातिप्राप्त गायक कैलाश खेरको रङ्गारङ्ग प्रस्तुती र १०औं अल इण्डिया चिफ मिनिस्टर फूटबल टुर्नामेन्टको फाइनल खेलसँगै ८ दिने जोरथाङ माघे सङ्क्रान्ति मेलाको आज समापन भयो। समापन समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि रहेका थिए जसले यस वर्षको जोरथाङ माघे मेलालाई सांस्कृतिक मेलासँगै अवसरहरूको मेला बताए। “यस वर्षको माघे मेला सांस्कृतिक र साङ्गीति कार्यक्रमसँगै मनोरञ्जन र खेलकुदको समागम मात्र नभएर अवसरहरूको मेला पनि बन्यो। यस वर्षको माघे मेला धेरै अवसरहरू पनि लिएर आएको थियो जसमा धेरैजना व्यवसायी, उद्यमी, खेलाड़ी र कलाकारहरूले अवसर पाए। दोकानपाट, होमस्टे, गाढ़ीघोड़ाहरू चल्यो”, उनले भने। यसको साथै राज्यपाल ओम प्रकाश माथुरको विशेष उपस्थितिले वर्ष २०२५ को जोरथाङ माघे मेला ऐतिहासिक बनेको पनि मुख्यमन्त्री तामाङले थप बताए। उल्लेखनीय छ, मेलाको उद्घाटन राज्यपाल माथुरको बाहुलीबाट भएको थियो।
मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनको क्रममा यसपल्टको भव्य जोरथाङ माघे मेलाको आयोजना शुभचिन्तक र प्रायोजकहरूको सहयोगमा सम्पन्न भएको बताए। यसको निम्ति उनले सबै शुभचिन्तक र प्रायोजकहरूलाई धन्यवाद पनि दिए। उल्लेखनीय छ, पछिल्ला केही समयदेखि राज्य सरकारले आयोजना गरेका तथा सरकारको सहयोग रहेको कार्यक्रमहरूको खर्चलाई लिएर विपक्षी राजनीतिक पार्टीहरूले सरकारलाई कठघढ़ामा उभ्याउँदै आएको छ। मुख्यमन्त्रीको भनाइअनुसार जुन लक्ष्य राखेर यस पल्टको माघे मेला आयोजना गरिएको थियो त्यसमा ९५ प्रतिशत जति सफलता हात लागेको छ भने यसपल्टको मेलामा देखिएका केही कमी कमजोरीलाई आगामी वर्ष पूरा गरेर जोरथाङ माघे मेलालाई नागाल्याण्डो हर्नबील फेस्टिभल जस्तै अन्तर्राष्ट्रिय स्तरको उत्सवको रुपमा आयोजना गरिनेछ। यसको साथै उनले माघे मेलालाई मनोरञ्जनमा मात्र सीमित नराखेर यसबाट सिर्जना भएका सबै अवसरहरूको लाभ उठाउने पनि मुख्यमन्त्रीले विशेष गरेर जोरथाङवासी साथै राज्यवासीलाई अपील गरे। उनको भनाइअनुसार यस वर्षको माघे मेलाबाट जोरथाङवासीले प्राप्त गरेको सबैभन्दा ठूलो उपलब्धी सन्ध्या आरती स्थल हो जसलाई धार्मिक पर्यटनसित जोड़ेर क्षेत्रवासीले आर्थिक लाभ उठाउन सक्नेछन्।


मुख्यमन्त्री तामाङले आज केही विशेष घोषणा पनि गरे। जसमा जोरथाङ फूटबल मैदानमा कृतिम घाँस (आर्टिफिस्यल टर्फ) जड़ान गर्ने प्रमुख रहेको छ। उनको भनाइअनुसार आगामी वर्ष माघे मेलाको अवसरमा खेलाइने फूटबल म्याचहरू कृतिम घाँसको मैदानमा खेलाइनेछ। यसको साथै मेला अनि अन्य कार्यक्रमको निम्ति रङ्गीत नदिको बगरमा एउटा नयाँ मैदन तयार पारिने पनि उनले थप घोषणा गरे। यसरी नै जेष्ठ्य नागरिक र दिव्याङ्गहरूलाई पनि समावेश गर्ने उद्देश्यले राज्य सरकारको “चाइल्ड एण्ड वुमन डेभलपमेन्ट डिपार्टमेन्ट” को नाम बद्ली गरेर “वुमन, चाइल्ड, सिनियर सिटिजन एण्ड पर्सन विथ डिसएबिल्टी वेलफेयर डिपार्टमेन्ट” बनाइने मुख्यमन्त्रीले आज थप घोषणा गरे।


स्वच्छतालाई लिएर पनि मुख्यमन्त्री तामाङले आज केही विशेष घोषणा गरेका छन्। विशेष गरेर सरकारी विभागहरूको सरसफाईलाई लिएर उनले असन्तुष्टी जाहेर गर्दै अबदेखि आ-आफ्नो कार्यालय र परिसरहरू सफा राख्नुपर्ने नत्रा सजाय भोग्न तयार रहने उनले कड़ा चेताउनी दिएका छन्। उनको भनाइअनुसार कार्यालयहरू सफा राख्ने जिम्मेवारी विभागीय प्रमुखहरूको हो र यदि कुनै अधिकारी यसमा विफल भएको खण्डमा निष्कासनसम्म गरिनेछ।


आज जोरथाङ माघे मेलाको समापन समारोहको अवसरमा मुख्यमन्त्री विवेकाधीन कोषबाट विभिन्न लाभार्थीलाई अनुदान राशिको चेक प्रदान गरियो भने प्रति वर्ष चारवटा ग्यास सिलेण्डरको घनराशि दिने सरकारको महत्वाकांक्षी योजना आमा सहयोग योजनाअतर्गत पहिलो चेक पनि प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement