गान्तोक: सिक्किम विधानसभाका अध्यक्ष, सचिव, प्रधान निर्देशक र संयुक्त सचिवले हिजो बिहार राज्यमा आयोजित ८५औं अल इन्डिया प्रिसाइडिङ अधिकारीहरूको सम्मेलनमा सहभागिता जनाए। उक्त सम्मेलनको उदघाटन लोकसभा अध्यक्ष ओम बिरलाले गरेका थिए भने उदघाटन कार्यक्रममा राज्यसभाका उपाध्यक्ष हरिवंश लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यस सम्मेलन आयोजचना गरिनुको मुख्य उद्देश्य पूर्ण सत्र ‘संविधानको ७५औं वार्षिकोत्सव; संवैधानिक मूल्यमान्यतालाई सुदृढ पार्न संसद र राज्य व्यवस्थापिका निकायहरूको योगदान’ विषयमा मुल्याङकन गरिनु रहेको थियो। सम्मेलनमा सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पाले पूर्ण सत्रमा भाग लिँदै संविधानले आउने पुस्तालाई न्याय, समानता, स्वतन्त्रता र भ्रातृत्वको सिद्धान्त र मूल्यमान्यताहरू सदैव जस्तै प्रेरणा र मार्गदर्शन प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले संसद र राज्य व्यवस्थापिकाहरू संविधानको आदर्शका साथ हाम्रो राष्ट्रको भविष्यलाई आकार दिने जिम्मेवारी भएका संस्थाहरू हुन् भन्ने कुरा प्रकाश पारे।