खरसाङ: खरसाङ पञ्चायत समितिको आयोजनामा खरसाङ खण्ड अन्तर्गत दुधेको डम्फेटारमा तीन दिवसीय ‘माघे मेला उत्सव’ आयोजना गरिने भएको छ। आगामी ३१ जनवरीदेखि २ फरवरीसम्म ग्रामीण क्षेत्रहरूका लागि ‘माघे मेला उत्सव’ आयोजना गरिने भएको जानकारी प्राप्त भएको छ। ‘माघे मेला उत्सव’ अन्तर्गत पहिलो ३२ जनवरीमा उदघाटनको दिन खोला नालाको पूजा अर्चना गरिने भएको छ। उक्त उदघाटन समारोहमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा, जिल्लापाल, खरसाङ महकुमा शासक, खरसाङ खण्ड विकास अधिकारी, खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री प्रधान लगायत विभागीय अधिकारीहरु उपस्थित रहने भएका छन्। प्रत्येक दिन सांस्कृतिक कार्यक्रम आयोजना गरिने तथा प्रथम दिन स्थानीय कलाकारहरुलाई लिएर सांगीतिक कार्यक्रम पनि गरिने भएको छ। यसको साथै दोस्रो दिन भोइस अफ् खरसाङको आयोजना गरिने जसमा खरसाङ खण्ड अन्तर्गत पर्ने १४ वटै ग्राम पञ्चायतहरुका युवाहरुलाई समावेश गरिने भएको छ। उक्त भोइस अफ् खरसाङ ग्रामीणको लागि खरसाङमा आगामी २३ जनवरीमा अडिशन गरिने भएको छ। उक्त अडिशनबाट सेमी फाइनलको लागि टप १० जना चयन गर्ने जसले १ फरवरीको ‘माघे मेला उत्सव’ कार्यक्रमा प्रस्तुति दिने भएको छ। त्यसरी नै फाइनलमा टप ५ चयन गरिने भएको छ। यसमा पहिलो हुनेलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ५ हजार प्रदान गरिने भएको खरसाङ पञ्चायत समितिको कर्माध्यक्ष भक्तिमान तामाङले जानकारी गराएका छन्। उनले बताए अनुसार भोइस अफ् खरसाङ ग्रामीणमा पहिलो हुनेलाई जीटीए आईडलको लागि खरसाङ महकुमा स्तरमा सोझै लाने भएको छ। यसको साथै तेस्रो दिन २ फरवरीमा ग्रामीण गोर्खा सुन्दर सुन्दरी प्रतियोगिता पनि आयोजना गरिने भएको छ। यसको साथै खरसाङ पञ्चायत समितिको आयोजनामा हुने ‘माघे मेला उत्सव’ मा विभिन्न एडभेञ्चर टुरिज्म अन्तर्गत फुटसल, रक क्लाईबिङ्ग, हट एयर बलुन, जिप लाइन लगायत अन्यहरु पनि रहने भएको छ। उनले खरसाङ पञ्चायत समितिको तर्फबाट यस ‘माघे मेला उत्सव’ सबै सबैलाई उपस्थित भईदिने साथै सहभागिता जनाई दिने आह्वान् गरेका छन्।