खरसाङ: युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोग अनि खरसाङ महकुमा खेलकुद संघको तत्त्वावधानमा आयोजित प्रतिष्ठित शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको बाह्रौं संस्करणमा हिल्स फूटबल एकाडमीले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। चानमारी खेल मैदानमा मंगलवार भएको म्याचमा हिल्स फूटबल एकाडमीले युनाइटेड घुम्ती स्पोर्टिंग क्लब (महानदी) विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट सोनम शेर्पाले ३७औं र ३९औं मिनटमा २ गोल गरे। यसरी युनाइटेड घुम्तीको तर्फबाट नितेन तामाङले ७८औं मिनटमा गोल गरे। सोनम शेर्पाले प्लेयर अव् द म्याच को पुरस्कार जिते। बुधवार खेलिने म्याचमा यूकेएफसी, खरसाङ र ब्राइट स्पोर्टिंग क्लबबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा १२ वटा शीर्ष टीमहरूलाई प्रवेश दिइएको छ, जसमा उत्तर बंगालका शीर्ष क्लबहरूको साथमा नेपाल र कलकत्ताको टीम पनि सामेल छन्। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ३० र ३१ जनवरीमा हुनेछ। यसरी फाइनल २ फरवरीमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।