गान्तोक: भारतको १६औं वित्त आयोगका अध्यक्ष अरविन्द पनगढ़ियाको नेतृत्वमा रहेको टोलीले सोमबार गान्तोकस्थित टाशिलिङ सचिवालयमा सिक्किम राज्य सरकारसँग महत्त्वपूर्ण छलफलको लागि उपस्थिति जनाएको छ। अजय नारायण झा, एनी जर्ज म्याथ्यू, मनोज पाण्डा, ऋत्विक पाण्डे, केके मिश्रा, कुमार विवेक, दविन्दर चोढ़ा, अभिषेक नन्दन, प्रोमिला राजवंशी, भाबेश हजारिका र आरुषि गुप्ता लगायत आयोगका अन्य सदस्यहरू टोलीमा सहभागी थिए। आगमनको क्रममा सिक्किम सशस्त्र पुलिसले टोलीलाई गार्ड अफ अनर प्रदान गरेको थियो। आयोगको स्वागत मुख्य प्रशासक तथा क्याबिनेट सचिव वीबी पाठक, मुख्य सचिव आर तेलाङ्गसहित राज्यका अन्य वरिष्ठ अधिकारीहरूले गरेका थिए। आयोगको सिक्किमको पाँचदिने औपचारिक भ्रमण १९ जनवरी २०२५ मा शुरु भएको थियो र यो २३ जनवरी २०२५ सम्म जारी रहनेछ। भ्रमण अवधिमा आयोगले सरकारी प्रतिनिधिहरू, स्थानीय निकायहरू, उद्योग क्षेत्रका नेताहरू, र राजनीतिक दलहरूसहित विभिन्न सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।