गान्तोक: सिक्किम सरकारको शिक्षा विभाग अधिनस्थ भाषा निदेशालयको सिक्किम बोर्ड अफ इन्डिजिनियस ल्याङग्वेजेस (एसबीआइएल) ले राज्यका सातवटा रैथाने भाषाको नवौं, दशौं, एघारौँ र बाह्रौँ श्रेणीको परिक्षा आयोजन गर्यो। रैथाने भाषाहरुको संरक्षणको निम्ति सिक्किम सरकारको पहलमा वर्ष २०२० थालिएको दुर शिक्षा प्रणाली (डिस्टेन्स मोड अफ एडुकेशन) को परिकल्पनामा चलिरहेको परिक्षामा यसपाली ३४२ जना विद्यार्थीले परिक्षा बसे। सर टासी नामग्याल उच्चतर माध्यमिक विद्यालयको प्रेक्षालयमा आयोजित परीक्षामा राई, तामाङ, गुरुङ, मगर, शेर्पा,नेवार र मुखिया रैथाने भाषाका विद्यार्थीले परीक्षा लेखे।

जसमा राई भाषाका १५२ जना, तामाङका ३८ जना, शेर्पाका ४० जना, गुरुङका ३० जना, मगरका ३९ जना, नेवारका ३४ तथा मुखिया भाषाका ९ जना विद्याथीले परिक्षा बसेका छन्। एसबीआएलका उप निर्देशक श्रीमती सुधा राईले दिएको जानकारीअनुसार, राज्यका रैथाने भाषा पठन पाठन गर्नेहरूमा आधिकारिक रूपमा परिक्षा बस्नेहरुको चासो धेरै बढिरहेको छ। जसको फलस्वरूप अहिले भाषा लेख्न र पढन् जान्नेहरूले पनि आधिकारिक परिक्षा बसेर प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था गरिएपछि भाषा संरक्षणको दिशामा पनि सहयोग पुगेको छ। शिक्षा विभागको भाषा निर्देशालयको एसबीआईएलले आयोजन गर्ने परिक्षा एक सय पूणर्णाङ्कको हुने गर्दछ। जसमा ८० अंकको लिखित परिक्षा हुन्छ भने १० अंक प्रत्यक्ष अन्तर्वाता र १० अंक क एसाइनमेन्टको दिइने गरिन्छ। उप निर्देशक राईले बताएअनुसार, परीक्षा बस्नको निम्ति सम्बन्धित भाषाका पञ्जिकृत संस्थाबाट परिक्षाको निम्ति योग्य रहेको प्रमाणपत्र लिएर निर्देशालयमा आएर फारम भरेर परिक्षा दिन सक्नेछन्। प्रत्येक वर्ष जनवरी २० तारिखको दिन हुने परिक्षाको प्रतिफलमा प्रमाणपत्र र अंक पत्र प्रदान गरिनेछ जुन वैश्विक स्तरमा आधिकारिक मान्यता रहनेछ। यसरी आफ्नो मौलिक भाषा सिकेर परिक्षा बसेर प्रमाणपत्र तहसम्म उत्तिर्ण भएकाहरुले भाषा विकासको निम्ति योगदान पनि दिइरहेका छन्। उनीहरूले सरकारी रोजगारमा पनि मान्यता प्राप्त गरिरहेका छन्।
सोमबार आयोजित परिक्षामा निर्देशालयकी संयुक्त निर्देशक श्रीमती डोमा जिम्बा, सिक्किम विधानसभाका भाषा संकायका उप निदेशक श्रीमती हरिमाया प्रधानको देखरेखमा परिक्षा सम्पन्न भयो। जसमा सम्बन्धित विभागका पाठ्य पुस्तक अधिकारी, अतिरिक्त पाठ्य पुस्तक अधिकारीहरुको निगरानीमा परिक्षार्थीहरूले परिक्षा लेखेका छन्।