सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १८औं संस्करणमा रोलिंग क्लब, नेपाल (धुलाबारी)-ले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा प्रवेश गऱ्यो। जीटीए (गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन) युवा मामिला एवम् खेलकुद विभागको सहयोगमा जारी यस टुर्नामेण्टअन्तर्गत सोमवार सुकना हाई स्कूल मैदानमा खेलिएको तेस्रो क्वार्टर फाइनल म्याचमा रोलिंग क्लबले जर्जियन फूटबल क्लबविरुद्ध पेनल्टी शूटआउटमा ४-३-ले जीत हासिल गऱ्यो। नियमित ९० मिनटको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा रोलिंग क्लबको तर्फबाट कप्तान नीरज कार्की ले ३३औं र देवेन्द्र तामाङले ६२औं मिनटमा गोल गरे। यसरी जर्जियन एफसीको तर्फबाट प्रणय मुखियाले ५९औं र बिजय भुजेलले ८८औं मिनटमा गोल गरे। विजेता टीमका नीरज कार्कीले प्लेयर अव् द म्याच-को पुरस्कार जिते। मंगलवार खेलिने चौथो क्वार्टर फाइनलमा एटीएस, कलकत्ता र सुकना युनाइटेड फूटबल क्लबबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको १८औं संस्करणमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल २५ जनवरीमा खेलिनेछ। १८औं सुकना गोल्ड कप फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।