जीटीएको सूचना अनि सांस्कृतिक विभागद्वारा भाषा संग्रामी बुद्धिमान प्रधानलाई घरैमा सम्बर्द्धना

IMG-20220903-WA0137.jpg

खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन, सूचना एवम् सांस्कृतिक विभागद्वारा भाषा संग्रामी बुद्धिमान प्रधानलाई खरसाङको सन्तमेरिजस्थित उनको निजी बासस्थानमै पुगेर विभागीय तौरबाट सम्बर्द्धना जनाइयो। गत २० अगस्त गोर्खा रङ्गमञ्च भवन, दार्जीलिङमा जीटीए, नेपाली अकादमी अनि दार्जीलिङ नगरपालिकाको संयुक्त तत्वावधानमा ३१औँ नेपाली भाषा मान्यता दिवस पालन गरिएको थियो। उक्त समारोहमा यसचोटि खरसाङ क्षेत्रबाट भाषा संग्रामी बुद्धिमान प्रधान ‘बमप’लाई सम्बर्द्धनाका लागि स्वतन्त्र चयन समितिद्वारा निर्णय गरिएको थियो। तर उनी वृद्धावस्था साथै शारीरिक अस्वस्थताले गर्दा उक्त समारोहमा सहभागी हुन नसकेका कारण सम्बन्धित विभागले घरैमा पुगेर उनलाई सम्बर्द्धना जनाएका छन्।

विभागीय सह निर्देशक विमल राईद्वारा सञ्चालित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यकारी सभासद अनोश थापाले बुद्धिमान प्रधान ‘बमप’लाई जिउँदो इतिहास भनी बताए। विशेष नेपाली भाषालाई संविधानको आठौँ अनुसूचीमा अन्तर्भुक्त गराउनमा योगदान दिने संग्रामीहरुमध्ये बुद्धिमान तामाङ एक जिँउदो इतिहास हुन् भनी उनले मन्तव्य पोखे। उनले भने, हाम्रो समाजमा मृत्यु पर्यान्त कदर गरिने तर जीवित रहिञ्जेल महत्त्व नदिने प्रवृत्ति छ। यसै कारण भाषा र जातिलाई माया गरेर योगदान दिनेहरु सशरीर रहँदै सम्मान गरिनुपर्ने हाम्रो उद्देश्य हो। बुद्धिमान तामाङ जस्ता जिउँदो इतिहासलाई विभागद्वारा सम्मान जनाउन पाउँदा हामी हर्षित छौँ। योजनाहरुलाई कार्यन्वयनमा परिणत गर्न सक्छौं भन्ने हामीलाई विश्वास छ। भाषा संग्रामी बुद्धिमान प्रधानको पक्षबाट उनका छोराले विभागप्रति कृतज्ञता प्रकट गर्दै आफ्नो कतिपय योजनाबारे बताए भने बुद्धिमान प्रधान ‘बमप’लाई आसमले गोर्खा गौरव पुरस्कारले सम्मान गर्न लागेकोबारे पनि थप बताए। कार्यक्रममा विभागीय सहनिर्देशक भुपेन्द्रकान्त घिसिङ, विभागीय खरसाङ शाखाका प्रभारी गोबिन छेत्री, परिवारपक्ष लगायत स्थानीयवासीहरु उपस्थित थिए।

About Author

Advertisement