कोलकाता: पश्चिम बङ्गालको सियालदह अदालतले आरजी कर दुष्कर्म-हत्या मुद्दामा दोषी ठहरिएका सञ्जय रोयलाई आजीवन कारावासको सजाय सुनाएको छ। यसका साथै अदालतले ५०,००० रुपियाँ जरिवाना पनि तोकेको छ। पीडितका बाबुले दोषीलाई अधिकतम सजायको माग गरेका थिए। न्यायाधीशले १८ जनवरीमा पहिले नै स्पष्ट गरिसकेका थिए कि यस मुद्दामा अधिकतम सजाय मृत्युदण्ड हुनसक्छ, जबकि न्यूनतम सजाय आजीवन कारावास हुनसक्छ। दुष्कर्म र हत्याको अपराधमा रोय विरुद्धको सजाय प्रक्रिया सोमबार पूरा भयो, तर प्रमाणमा छेडछाड र परिवर्तनको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) को अनुसन्धान जारी रहनेछ। सुनुवाइको क्रममा सीबीआईका वकिलले भने, ‘हामीले प्रमाण पेश गरेका छौं। हामीले कानून अनुसार काम गरेका छौं।‘ उनले थप भने, ‘पीडित ३६ घण्टा ड्युटीमा थिइन्, उनलाई कार्यस्थलमै दुष्कर्म गरी हत्या गरिएको थियो। उनी एक मेधावी विद्यार्थी थिइन्।” पीडित परिवारका वकिलले भने, “प्रमाणले त्यो रातको घटनाको बारेमा सबै कुरा स्पष्ट पार्छ। धेरै तर्कहरू पछि पनि, अभियुक्तको निर्दोषता प्रमाणित भएको छैन।‘‘
गत वर्ष ९ अगस्तको बिहान आरजी कर मेडिकल कलेज तथा अस्पताल परिसरको सेमिनार हलबाट प्रशिक्षार्थी महिला डाक्टरको शव फेला परेको थियो। यो मुद्दाको शुरुमा कोलकाता पुलिको विशेष अनुसन्धान टोलीले अनुसन्धान गरेको थियो, जसले रोयलाई पक्राउ गरेको थियो। यद्यपि, सीबीआईले अपराध भएको मितिको पाँच दिन पछि अनुसन्धान शुरु गर्यो, र पछि रोयलाई शहर पुलिसले केन्द्रीय एजेन्सीका अधिकारीहरूलाई बुझायो। यस मुद्दाको सुनुवाइ प्रक्रिया गत वर्ष ११ नोभेम्बरमा शुरु भएको थियो। मुद्दाको सुनुवाइ शुरु भएको ५९ दिनपछि फैसला सुनाइएको हो। कसुर भएको मितिबाट १६२ दिन पछि दोषी ठहराउने प्रक्रिया पूरा भयो। फैसला आउनुअघि पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले भनेकी थिइन्, “हामीले अनुसन्धानमा सहयोग गरेका छौं। हामीले न्यायको माग गरेका थियौं तर न्यायपालिकाले आफ्नो काम गर्नुपरेकोले यति धेरै समय लाग्यो, तर हामी सधैं पीडितले न्याय पाओस् भन्ने चाहन्थ्यौं।”