सिलगढी: साउती फाउन्डेशन, सिलगढीद्वारा सञ्चालित हास्य-ब्यङ्ग्य कविताहरूको १४औं श्रृङ्खला आइतबार सिलगढी, शास्त्री नगरको समाज सेवा समितिको अरूणा लामा भवनमा आयोजन गरिएको थियो। समाजसेवी तुलसी भट्टराईद्वारा अध्यक्षता गरिएको समारोहमा संरक्षकगण पद्मश्री सानु लामा, नागाल्यान्डका पूर्व डीजीपी चन्द्र प्रकाश गिरी, सिक्किम सरकारका पूर्व अतिरिक्त सचिव र सिक्किम नेपाली साहित्य परिषदका पूर्व अध्यक्ष कुबेर दाहालको विशेष उपस्थिति रहेको थियो भने कवि राजा पुनियानी निरपेक्ष पाठकको रुपमा उपस्थित रहेका थिए। लक्ष्मण शर्मा नेपाल मुख्य आयोजक र प्रायोजक रहेको समारोहमा एघाह्रमध्ये नौजना कविहरूले स्वरचित कविता प्रस्तुत गरे। जसमा प्रथम भक्त कुमार सुब्बा, पूल बजार, दार्जीलिङ, दोस्रो खगिन्द्रा खुशी, चन्द्रगढी, नेपाल, तेस्रो उषा शर्मा गान्तोक, सिक्किम भए। यसरी नै अरू तीनजालाई पनि पुरस्कृत गरियो। पुरस्कारको रुपमा ६ जनालाई नै प्रमाणपत्र अनि नगदराशि प्रदान गरियो। स्मरण गराइन्छ, साउती कविता श्रृङ्खला अन्य प्रतियोगिता भन्दा फरक तरिकाले सञ्चालन गरिन्छ। यसमा अध्यक्ष र संरक्षकगणलाई मात्रै मञ्चमा राखिन्छ। प्रतियोगीहरूको रचना पुस्तकमा प्रकाशित गरिएको हुन्छ, दर्शकहरूले प्रतियोगीहरूको छनोट गर्छन् भने उत्कृष्ट दर्शकहरूको छनोट संरक्षकगणले गर्छन्। मुख्य संयोजक मुक्ति बराल उपाध्यायले दर्शकगण निर्धारित समयमा उपस्थित नभइदिएकामा गुनासो गरे। बहुप्रतिभाशाली व्यक्तित्व कृष्ण बस्नेतद्वारा सञ्चालित कार्यक्रममा साउती कविताको १५औं ङ्खला नेपालको बिर्तामोडमा त्यहाँको साहित्य चौतारीद्वारा आयोजन हुने घोषणा गरिएको छ।