नयाँ दिल्ली: गौतम अडानीलाई ७ सेप्टेम्बरमा नयाँ दिल्लीमा हुने इण्डिया आइडियाज समिटमा ग्लोबल लिडरशिप अवार्डद्वारा सम्मानित गरिनेछ। जेफ बेजोस, गुगलका सीईओ सुन्दर पिचाई, नास्डाक प्रमुख एडेना फ्राइडम्यान, फेडएक्स कर्पोरेशनका प्रमुख फ्रेड स्मिथ र कोटक महिन्द्रा बैंकका प्रमुख उदय कोटकजस्ता सेलिब्रेटीलाई यो अवार्डबाट सम्मानित गरिएको छ। भर्खरै भारतीय व्यापारी गौतम अडानी विश्वका धनीहरुको सूचीमा शीर्ष ३ मा परेका छन्। यो पद हासिल गरेपछि गौतम अडानीलाई अब ग्लोबल लिडरसिप अवार्डबाट सम्मानित गरिने भएको छ।
अमेरिका-भारत व्यापार परिषद (युएसआईबीसी) ले यो घोषणा गरेको हो। युएस इण्डिया बिजिनेस काउन्सिलले एक विज्ञप्तिमा गौतम अडानीलाई ७ सेप्टेम्बरमा नयाँ दिल्लीमा हुने इण्डिया आइडियाज समिटमा ग्लोबल लिडरशिप अवार्डबाट सम्मानित गरिने जनाएको छ। ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सको तथ्यांक अनुसार गौतम अडानीको कुल सम्पत्ति १४३ अर्ब डलर पुगेको छ। विदेश मन्त्री एस जयशंकर, वित्त मन्त्री निर्मला सीतारमण र अमेरिकी उर्जा सचिव जेनिफर ग्रानहोमले यो अमेरिका-भारत व्यापार परिषद सम्मेलनमा भाग लिने सम्भावना छ। यो अवार्ड सन् २००७ देखि भारत र अमेरिकाका शीर्ष व्यापारीहरूलाई द्विपक्षीय व्यापारिक सम्बन्धलाई दह्रो बनाउने प्रयासका लागि प्रदान गरिएको हो।









