सिलगढी: घरबाट काममा जाँदै गर्दा रेलवे ट्र्याक पार गर्ने क्रममा रेलले किचेर दुई जनाको मृत्यु भएको छ। यो घटना सोमबार बिहान सिलगढीसँगै रहेको ठाकुरनगर क्षेत्रमा भएको हो। मृतकमध्ये एक जना सिलगढी नजिकै रहेको ठाकुरनगर क्षेत्रका बासिन्दा थिए भने अर्का एक जना बिहारको बेगुसराय जिल्लाका थिए। आज बिहान ठाकुरनगर बारिभाषा क्षेत्रका निवासी बिभीषण महतो र बिहारका निवासी स्वपन महतो काममा जान रेलवे लाइन पार गर्दै गर्दा रेलले धक्का दिएको बताइएको छ। दुवै जनाको शव खेतमा लडिरहेको अवस्थामा फेला परेको थियो। जानकारी पाएपछि रेलवे पुलिसका अधिकारीहरू घटनास्थलमा पुगेर दुवै शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमको लागि अस्पताल पठाएका छन्।









