दार्जीलिङ: रेलिंग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा आयोजित रेलिंग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको पाँचौं सीजनमा बोयज स्पोर्टिंग क्रू (बीएसके)-ले सेमिफाइनलमा प्रवेश गऱ्यो। आइतवार भएको चौथो क्वार्टर फाइनल म्याचमा बोयज स्पोर्टिंग क्रू (बीएसके)-ले युनाइटेड एफसी दार्जीलिङ विरुद्ध ५-२-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट सञ्जय राईले 3 र सुराग छेत्रीले २ गोल गरे। यसरी युनाइटेड दार्जीलिङको तर्फबाट गणेश लिम्बुले १ गोल गरे। अन्य एउटा गोल आत्मघाती (जसमान गुरुङ) रह्यो। सञ्जय राईले प्लेयर अव् द म्याच-को ट्रफी जिते। टुर्नामेण्टमा जम्मा १६ वटा नामी-दामी टीमहरूलाई प्रवेश दिइएको छ। दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल २५ जनवरीमा हुनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा सेमिफाइनलमा हार्ने दुवै टीमलाई ५०-५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।