गान्तोक: उत्तर प्रदेशको प्रयागराजमा आयोजना भइरहेको महाकुम्भ २०२५ समारोहमा सहभागी बन्न राज्यपाल ओम प्रकाश माथुर आज प्रयागराज पुगे। यस अवसरमा उनले जूना अखाड़ेका मगामण्डलेश्वर स्वामी अवधेशानन्द गिरी महाराजसँग पनि भेट गरे। भेटवार्ताको क्रममा दुईबीच विभिन्न सामाजिक एवं सांस्कृतिक विषयमा चर्चा भएको राजभवनद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ।
राज्यपालले महाकुम्भमा सहभागितालाई लिएर हर्ष व्यक्त गरेका छन्। महाकुम्भ हाम्रो देशको संस्कृति र आध्यात्मिक सम्पदाको एक महत्त्वपूर्ण भाग हो जसले हामीलाई एकता, शुद्धता र समर्पणको सन्देश दिन्छ, उनले भने। यस अवसरमा राज्यपाल माथुरले विभिन्न धार्मिक स्थलको भ्रमण अनि दर्शन गरी सिक्किम र सिक्किमवासीको शुख अनि समृद्धिको कामना गरेको विज्ञप्तीमा थप उल्लेख गरिएको छ।
उल्लेखनीय छ, राज्यपाल ओम प्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङलाई महाकुम्भमा निमन्त्रणा जनाउन केही दिन अघि उत्तर प्रदेश सरकारका दुई मन्त्री गान्तोक आएका थिए।









