खरसाङ: खरसाङ महकुमा अन्तर्गत टुङ सन्त मेरिज समष्टिको नेहुर बालासनको बीच गाउँमा बिजुली बत्तीको खाँबो जीर्ण अवस्थामा पुगेको कारण ठूलो दुर्घटना हुने सम्भावना थियो। तर अहिले यसको समाधान भएको छ। प्राप्त जानकारी अनुसार बालासन भागोप्रमो टोलीको अगुवाईमा गत ३० अगस्त २०२२ मंगलबारको दिन सोनादा विद्युत कार्यालय अधिकारी यांकी शेर्पा अनि टुङ सेन्त मरिज समष्टि सभासद नुरी शेर्पालाई लिएर सिपाहीधुराको एउटा होटेलमा एक बैठक बसिएको थियो। यस अवधि सम्पूर्ण बालासन चिया बगानको बिजुली बत्तीको समस्या लिएर बालासन भागोप्रमो टोलीलाई नेतृत्व गर्दै विद्युत अधिकारी यांकी शेर्पालाई बिन्ती गर्दै बालासन क्षेत्रमा भईरहेको बिजुलीको समस्या साथै बिजुलीको खाँबा जीर्ण अवस्थामा पुगेको कारण ठूलो दुर्घटना हुन सक्ने अवगत गराउँदै एउटा ज्ञापन चढ़ाइएको थियो। फलस्वरूप विभागीय लाईमेन दल आएर पोल बद्ली गरिदिएपछि गाउँवासीले राहतको श्वास फेरेका छन्। यद्यपि तल्लो बालासनमा अझै पनि बत्तीको तार नबिछ्याइएको हुनाले यो बर्खा याममा प्राय: बत्ती जाने गरेको पनि थाहा लागेको छ। यसबारे पनि विभागीय अधिकारीलाई जानकारी गराइएपछि उनले सभामा चाँड़ै तार लगाइने वचन दिएका छन् औ जीर्ण अवस्थामा पुगेको बिजुली खाँबो पनि बद्ली गरिदिने बताएका छन्। यसबारे ग्रामवासीको पक्षबाट भागोप्रमो टुङ सन्तमेरिज शाखा सचिव फुर्बा तामाङले जानकारी दिँदै सम्पूर्ण बालासनवासीको तर्फबाट सोनादा विद्युत कार्यालय अधिकारी यांकी शेर्पा साथै लाईनमेन टोलीलाई धन्यवाद दिएका छन्। त्यसरी नै उनीहरूको समस्यालाई मध्य नजर राखेर विद्युत विभागका अधिकारीहरूसँग कुराकानी गरिदिएकोमा क्षेत्रिय सभासद नुरी शेर्पाप्रति पनि कृतज्ञता व्यक्त गरेका छन्।










