सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १८औं संस्करणमा कालेबुङ पुलिसले सेमिफाइनलमा प्रवेश गऱ्यो। जीटीए (गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन) युवा मामिला एवम् खेलकुद विभागको सहयोगमा जारी यस टुर्नामेण्टअन्तर्गत आइतवार सुकना हाई स्कूल मैदानमा खेलिएको दोस्रो क्वार्टर फाइनल म्याचमा कालेबुङ पुलिसले कञ्चनजंघा फूटबल क्लब (केएफसी)-विरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट अनिवेश गुरुङ (टाइगर)-ले ३२औ, आशिष राईले ४५औं र सुजल दांगलले ५५औं मिनटमा गोल गरे। सुजल दांगलले प्लेयर अव् द म्याच को पुरस्कार जिते। सोमवार खेलिने तेस्रो क्वार्टर फाइनलमा रोलिंग क्लब (धुलाबारी, नेपाल) र जर्जियन फूटबल क्लबबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको १८औं संस्करणमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल २५ जनवरीमा खेलिनेछ। १८औं सुकना गोल्ड कप फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।