मेरो काम बनाउने हो, स्याहार्ने काम तपाईहरुको हो: अनित थापा

खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन, स्वास्थ्य एवं परिवार कल्याण विभागद्वारा आज खरसाङ महकुमा अन्तर्गत सिटोङको घलेटारमा दशवटा पलङजड़ित नव-निर्मित सिटोङ प्राथमिक स्वास्थ्य केन्द्रको विधिवत उदघाटन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल अनित थापाको बाहुलीबाट गरिएको छ। उक्त प्राथमिक स्वास्थ्य केन्द्रको उदघाटन कार्यक्रममा आफ्नो सम्बोधनमा अनित थापाले भने, ” म यहाँको सभासद हुँ तर मेरो जिम्मेवारी सम्पूर्ण पहाड हो। म यहाँ मात्र लगानी गर्नु सक्दिन। सकारात्मक अनि रचनात्मक भएर काम गर्नुपर्छ। धैर्य पनि राख्नु सिक्नु पर्छ। १०% मान्छेले गाली गर्दा केही हुँदैन। ९०% जनताले भोट दिएर हामीलाई कुर्सीमा राखेका हुन्।”
थापाले भने, “अस्पताललाई राम्ररी चलाउनु डाक्टर अनि नर्सहरुलाई पनि सुविधा दिनु पर्छ। अस्पताललाई एम्बुलेन्स चाहिन्छ। डाक्टर, नर्सहरू बस्ने ठाउँ सुविधाजनक हुनुपर्छ। उहाँहरुलाई सुविधा दिनु सक्यौं भने उहाँहरूबाट पनि राम्रो सेवा पाउनु सक्नेछौ।”
थापाले अस्पतालमा रोगी सहायता समिति गठन गर्ने निर्देश पनि दिएका छन्।

उनले उक्त यस समितिले अस्पतालको देखभाल गर्नेछ अनि समितिको गठन हुनु सरकारी नियम अनुसार अनिवार्य पनि छ भनी बताएका छन्।

सिटोङलाई जोड्ने धेरै बाटोहरू छन्। यही बाटोले गर्दा सिटोङको अर्थव्यवस्था बढेर जानेछ भन्दै उनले अघि भने, “मेरो काम बनाउने हो। स्याहार्ने काम तपाईहरुको हो। बनिएको कुरालाई स्याहार गरेको देखें भने पो नयाँ नयाँ चीज बनाउनु पनि मन लाग्छ।”

कार्यक्रममा राजेश चौहान, उपाध्यक्ष, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभा, दुश्यन्त नारायला, आइएएस, प्रधान सचिव, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन, तुलसी प्रमाणिक, सीएमओएच दार्जीलिङ्ग, अनु प्रधान, सभापति खरसाङ पञ्चायत समिति, रतन थापा कार्यकारी सभासदको विशेष उपस्थिति रहेकाे थियो।









