खरसाङ: चाँद एफसी घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको फाइनलमा पुग्ने पहिलो टिम बनेको छ। घैयाबारी स्पोर्ट्स एसोसिएसनको आयोजनामा घैयाबारीको नेताजी हाई स्कूलको खेल मैदानमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्ट अन्तर्गत शनिबार पहिलो सेमी फाइनल खेल चाँद एफसी र उदय संघ घैयाबारीमाझ सम्पन्न भयो। यस खेलको पहिलो हाफमा दुवै दलबाट कुनै गोल नभएपछि पहिलो हाफको खेल बराबरीमा समाप्त भएको थियो। दोस्रो हाफको खेलमा चाँद एफसीको जर्सी नम्बर १० उत्तम राईले गोल गरेर बढत बनाएका थिए। यसको लगत्तै उदय संघ घैयाबारीको तर्फबाट जर्सी नम्बर ११ अभिषेक ठकुरीले गोल गरेर खेल बराबरीमा ल्याएका थिए। गोल बराबरीमा पुगेपछि खेल एकदमै रोमाञ्चक बनेको थियो।सेमी फाईनल स्तरीय खेल बनेको थियो। उक्त पहिलो सेमी फाइनल खेल हेर्नलाई दर्शकहरुको भीड लागेको थियो। निर्धारित समयसम्म पनि दुवै दलले १-१ गोल गरेर खेल बराबरीमा समाप्त भएपछि पेनाल्टी शुट आउट खेलाइएको थियो। उक्त पेनाल्टीमा चाँद एफसीको एकजना खेलाडी र
उदय संघको दुईजना खेलाडीले पेनल्टी मिस गरेका थिए। अन्तत: चाँद एफसीले खेल ४-३ को अन्तरले जितेर फाइनलमा पुग्ने पहिलो टिम बनेको छ। आजको खेलमा म्यान अफ् द म्याच चाँद एफसीको जर्सी नम्बर १० उत्तम राई चयन भएका छन्। आजको खेलमा मुख्य अतिथिको रुपमा डीएचआर वेलफेयर कन्ट्याक्टर एसोसिएसन सिलगढी सेक्शनको सभापति रवि प्रधान उपस्थित थिए भने विशिष्ट अतिथिको रुपमा एसोसिएसनको सचिव नितिन छेत्री, पूर्व शिक्षक उत्तम गिरी, सरिता गुरुङ उपस्थित रहेका थिए। अब आईतबार हुने दोस्रो सेमी फाइनल खेल तकदाह एफसी र दुधे एफसीमाझ सम्पन्न हुने भएको छ। यस पहिलो सेमी फाइनल खेलमा चाँद एफसीको तर्फबाट जर्सी नम्बर १० उत्तम राई र जर्सी नम्बर ४ नारायण छेत्री आईएसएल खेल्ने खेलाडी रहेको आयोजक समितिले जानकारी गराएका छन्। त्यसरी नै चाँद एफसीको जर्सी नम्बर ६ बीरेन प्रधान युकेएफसी तथा जीटीए ईलेभेनका खेलाडी साथै जर्सी नम्बर १ गोल किपर रुपक कोया युकेएफसीको खेलाडी रहेका थिए। यस पहिलो सेमी फाइनल खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै घैयाबारी स्पोटर्स एसोसिएसनको सल्लाहकार दावा वाङ्दी लामाले आज भएको पहिलो सेमी फाइनल खेल चाँद एफसी र उदय संघ घैयाबारीमाझ सम्पन्न भएको र यस खेलमा चाँद एफसीले पेनाल्टी सुट आउटमा ४-३ को अन्तरले विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ। अब आइतबार हुने दोस्रो सेमी फाइनल खेलमा तकदाह एफसी र दुधे एफसीमाझ हुने खेलमा जसले जित्छ आगामी २६ जनवरीमा हुने फाइनल खेलमा उपाधिको लागि चाँद एफसीसित भीड्न्त हुने भएको जानकारी गराएका छन्। उनले घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको उपाधि जित्ने विजेतालाई ट्रफीससहित डेढ लाख रुपियाँ र उप विजेतालाई ट्रफीससहित एक लाख रुपियाँ प्रदान गरिने जानकारी गराएका छन्।









