गान्तोक: पश्चिम सिक्किमको टासिडिङ योक्समको सडकस्थित लाङ खोला नजिक नजिक रातोमाटे भीरमा दर्दनाक अल्टो वाहन दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार राति लगभग ८:३० बजी एउटा बिहेको भोज खाएर फर्केर घर जाँदै गरेको एसके—०२-पी-५९६६ नम्बरधारी अल्टो वाहन दुर्घटना परेको छ। भीरबाट लगभग पाँच सय फीट मुनि झरेको वाहनमा सवार रहेका पाँच जनाको मृत्यु भएको छ।

दुर्घटना बेलुकी भएको हुँदा यसको पत्तो भने आज बिहान मात्रै लागेको बताइएको छ। दुर्घटनामा चालक अविकेशर दाहाल स्वंय मालिक पनि थिए। उनी अभिषेक दाहाल, चन्द्र बहादुर मगर, कर्ण बहादुर गुरुङ र जीवन कार्कीको मृत्यु भएको छ। मृतकहरु योक्सम टाशिडिङ समष्टिअन्तर्गत अप्पर आरिथाङ निवासी हुन्।

गेरेथाङदेखि अप्पर चोङराङ गइरहेको समय उक्त दुर्घटना भएको बताइएको छ। वाहन रातोमाटे भीरबाट अनुमानित पाँच सय फीट तल पल्टिएर झरेको जानकारी पाइएको छ। घटनाको अनुसन्धान चलिरहेको छ भने शवलाई पोष्टमार्टमका लागि गेजिङ जिल्ला अस्पताल पठाइएको छ।