कोलकाता: मेदिनीपुर मेडिकल कलेजमा स्त्री रोग र एनेस्थेसिया विभागका २२ जुनियर चिकित्सकले गएरातिदेखि नै हड्ताल शुरु गरेका छन्। आज बिहानदेखि अन्य विभागका चिकित्सकहरूले पनि हड्ताल शुरु गरेका छन्। बिहीबार दिउँसो मुख्यमन्त्री ममता ब्यानर्जीले सलाइन घोटालासम्बन्धी मुद्दामा १२ जना चिकित्सकलाई निलम्बन गर्ने आदेश दिएकी थिइन्। यो सूचीमा ६ जना पीजीटी मेडिकल विद्यार्थीसमेत छन्, जसमा मौमिता मण्डल, पूजा साहा, जागृति घोष, भाग्यश्री कुन्डु, मनीष कुमार र सुशान्त मण्डल छन्। यसबाहेक, अस्पतालका अधीक्षक, आरएमओ र अन्य चिकित्सक पनि यस सूचीमा परेका छन्। निलम्बनको निर्णय पछि मेदिनीपुर मेडिकल कलेजका जुनियर चिकित्सकहरूले हड्तालको घोषणा गरे। त्यसपछि स्त्री रोग र एनेस्थेसिया विभागका २२ जना चिकित्सकहरूले अस्पतालको प्रसूति वार्डमा गएरातिदेखि नै काम बन्द गरेका छन्। अहिले अन्य विभागका चिकित्सकहरूले पनि हड्ताल शुरु गरेका छन्। यद्यपि, ओपीडी र अत्यावश्यक सेवाहरू भने सञ्चालनमा छन्। जुनियर चिकित्सकहरूले ६ जना साथीहरूको निलम्बन फिर्ता लिन माग गर्दै हड्तालको आह्वान गरेका हुन्। ओबीजीएन विभागका चिकित्सकहरूले पनि निलम्बनको विरोधमा काम ठप्प पारेका छन्।
एक जुनियर चिकित्सकले भने, “हामीले ६ जना साथीहरूको निलम्बनको विरोधमा एमएमसीएचमा अनिश्चितकालीन काम बन्द अभियान शुरु गरेका छौँ। ती साथीहरूलाई एक महिलाको मृत्यु र तीन अन्य गम्भीर बिरामीको घटनामा दोषी ठहराइएको छ।” उनीहरूले आरोप लगाए कि यो स्वास्थ्य प्रणालीभित्रका कमजोरी र भ्रष्टाचारलाई ढाकछोप गर्न गरिएको छ। “नैतिक संकटको यस परिस्थितिमा, एमएमसीएचका सबै जुनियर चिकित्सक साथीहरूको समर्थनमा एकजुट भएका छन्,” उनीहरूले भने। ‘जुनियर चिकित्सक फोरम’ का सक्रिय सदस्यले आशा व्यक्त गरे कि अधिकारीहरूले निलम्बन फिर्ता लिनेछन्। पश्चिम बङ्गाल सरकारले बिहीबार १२ जना चिकित्सकलाई निलम्बन गरेको थियो। ती चिकित्सकमाथि एक महिलाको मृत्यु र चार जना अन्य बिरामी हुने घटनामा लापरबाही गरेको आरोप लगाइएको छ। आरोपअनुसार ती बिरामीलाई प्रसवपछि ‘म्याद सकिएको’ सलाइन दिइएको थियो। निलम्बितमध्ये अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट, आरएमओ, विभाग प्रमुख, एक वरिष्ठ रेजिडेन्ट र ६ जना स्नातकोत्तर प्रशिक्षार्थी चिकित्सक छन्। मुख्यमन्त्री ममता बनर्जीले राज्य सीआईडी र स्वास्थ्य विभागद्वारा गठित १३ सदस्यीय विज्ञ समितिको प्रतिवेदनका आधारमा चिकित्सकहरूको लापरवाही पुष्टि भएको बताएकी छन्। सीआईडीले ती चिकित्सकमाथि एफआईआर दर्ता गरी कानूनअनुसार अनुसन्धान अघि बढाउने बताइएको छ।